चित्रबहादुर केसीले मतदान गर्न पाएनन्

बागलुङ । बागलुङको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मतदान गर्न नपाउने भएका छन् ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–८ स्थायी ठेगाना रहेका केसीको बागलुङमा मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएका हुन् । उनी उम्मेदवार भएका कारण मत माग्न बागलुङमै छन् ।

प्रधानमन्त्री देउवाले गरे मतदान

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरामा मतदान गरेका छन ।

उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन ।

उनी डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार छन् । आफूले मतदान गरेका तस्वीर सामाजिक सञ्जालमा राख्दै देउवाले भनेका छन्, ‘मैले मतदान गरे, तपाईँहरु पनि मतदानमा सहभागी हुनुहोला ।’

म्याग्दीमा १०७ वर्षीय जसमनी कामीले गरे मतदान

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गरेका छन् ।

मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत इश्वरबहादुर भण्डारीले जानकारी दिए ।

म्याग्दीका १२० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ । ६ स्थानीय तह र ४५ वटा रहेको म्याग्दीमा ८६ हजार जना मतदाता छन् ।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । १९ जना उमेद्वार प्रतिस्पर्धामा छन् । सर्वसाधारणहरु उत्साहका साथ मतदानका लागि मतदान स्थलमा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *