गुल्मीको छापहिलेमा गलत मतपत्र परेपछि…..

गुल्मी । गुल्मीको मालिका गाउँपालिका- ५ को छापहिले माध्यमिक विद्यालयको मतदान केन्द्रमा रोकिएको मतदान सुरु भएको छ ।

प्रतिनिधि सभा निर्वाचनको मतपत्र दिने क्रममा प्रदेश सभाको मतपत्र दिएको पाइएपछि मतदान केहीबेर रोकिएको थियो । त्यसपछि मतदान गरिसकेका ५४ जनाको मत बदर गरेर पुन: मतदान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।

मतदान केन्द्रमा खटिएका मतदान अधिकृतलाई जिम्मेवारीबाट परिर्वतन पनि गरिएको छ । मतदान गरेका ५४ जना मतदाताले पुनः प्रतिनिधि सभाको मत दिन पाउने भएका छन् । जिल्लाका अन्य स्थानमा भने शान्तिपूर्ण मतदान चलिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

जिल्लामा २ लाख २३ हजार ६१५ जना मतदाता रहेका छन् । जिल्लाका २७९ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ ।

यता, नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी बुथमा मतदान गरेका छन् । मतदानपछि उनले मत परिणाम देशभर एमालेको पक्षमा आउने विश्वास व्यक्त गरे ।

आज बिहान ८ः ३० बजे पोखरेलले मतदान गर्दै चुनावी अभियानका क्रममा मतदाताहरूले प्रकट गरेको उत्साह मतदानमा पनि प्रकट हुने बताए ।

निर्वाचित भएपछि पार्टीको केन्द्रीय घोषणापत्र र काठमाडौं क्षेत्र नम्बर ५ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका २८ वटा प्रतिबद्धतालाई कार्यान्वयन गर्ने उनले प्रतिबद्धता जनाए ।

वरिष्ठ उपाध्यक्ष पोखरेल २०७४ को निर्वाचनमा भारी मतान्तरका साथ सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *