एमाले अध्यक्ष ओलीले गरे मतदान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् ।उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । चुनाव प्रचारका लागि झापामा रहेका ओली मतदानका लागि बालकोट आएका हुन् । उनी बालकोटमा नै स्थायी रुपमा बस्दै आएका छन् ।

ओलीले मंसिर १५ गतेसम्म एमालेको बहुमतीय सरकार बन्ने बताएका छन्। आइतबार  मतदान गर्दै उनले निर्वाचनबाट एमालेले बहुमत ल्याउने दाबी गरेका हुन्।

अध्यक्ष ओलीले आगामी मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने र त्यो नभए एमालेसँग साझेदार गरेका दलहरूसँग मिलेर सरकार बनाउने बताए।

उनले केही ठाउँमा बाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे। एमालेले बहुमत ल्याउने र बहुमत नआएको खण्डमा एमालेसँग सहकार्य गरेका दलहरूको सरकार बन्ने उनको भनाइ छ।

अध्यक्ष ओलीले अप्रिय घटना भएका ठाउँमा निर्वाचन सुसम्पन्न हुन नसके पुनः मतदान गर्नुपर्ने बताए। शान्तिपूर्ण रूपमा, निर्वाध रूपमा निर्वाचन सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।

उनले नयाँ दलहरु राष्ट्रिय पार्टी बन्ने अवस्था नरहेको पनि ओलीले बताए।

‘जनतालाई आम निर्वाचनमा सहभागी हुन आग्रह गर्दछु। म अहिले यत्ति भन्छु, मन परेको पार्टीमा उम्मेदवारलाई भोट हाल्न र मताधिकारप्रयोग गर्न आग्रह गर्दछु। निर्वाचनपछि एमालेले बहुमत ल्याउनेमा म विश्वस्त छु। मंसिर १५ गतेसम्म एमालेको बहुमतको सरकार बन्छ’ उनले भने।

ओली झापा-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्। ओलीले भोट हालेको क्षेत्रमा भने नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका महेश बस्नेत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *