भाेट हाल्ने निर्धारित समय सकिन लाग्याे, १५ ठाउँमा मतदान सुरु हुन अझै बाँकी

काठमाडाै । निर्वाचन आयोगले १५ वटा केन्द्रमा मतदान रोकिएको जनाएको छ। यसअघि सुरक्षाका कारणले मतदान रोकिएका ४७ ठाउँमध्ये १६ वटामा मतदान सुरु हुन अझै बाँकी रहेको नेपाल प्रहरीका प्रवक्ताले बताएका थिए।

चुनाव बिथोल्ने गतिविधिलाई नियन्त्रणमा लिन आठ जिल्लामा ३८ राउन्ड हवाई फायर गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बीबीसीलाई बताए।

प्रहरीले चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा काठमाण्डूबाट ४ जनालाई पक्राउ गरेको पनि उनले जानकारी दिए। प्रहरीका अनुसार सुदूरपश्चिमको बाजुरा जिल्लाका कम्तीमा ६ ठाउँमा मतदान सुरु हुन बाँकी छ।

बाजुरामा मतपेटिकामा आगजनी भएका समेत विवरण आएका छन्।

‘३५ देखि ३७ प्रतिशत मतदान’

निर्वाचन आयोगले अपराह्न ३ बजेसम्म ३५ देखि ३७ प्रतिशत मतदान भएको जनाएको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले त्यस्तो सङ्ख्यामा मत खसेको जानकारी दिए।

आयोगले यसअघि ७० प्रतिशतसम्म मत खस्ने विश्वास गरेको जनाएको थियो। तर त्यो पुग्न गाह्रो देखिएको उनले बताए।

इलाममा ११५ वर्षे वृद्धले मतदान गरे 

इलाममा ११५ वर्षे वृद्धले मतदान गरेका स्थानीय सुरक्षा अधिकारीहरूले दाबी गरेका छन्।

जिल्लाको फाकफोकथुम गाउँपालिका–७, शिकारी भन्ज्याङस्थित सिंहदेवी माध्यमिक विद्यालय केन्द्रमा ११५ वर्षे मनबहादुर राईले मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

उनको नागरिकतामा जन्म मिति १९६४ साल लेखिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत अपराह्न २ बजेसम्म काठमाण्डू उपत्यकामा ५० प्रतिशतको हाराहारीमा मत खसेको अधिकारीहरूले जनाएका छन्।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने, ‘काठमाण्डू उपत्यका भित्र ४० देखि ५० प्रतिशतको हाराहारीमा मत खसेको छ।’

उक्त आँकडा अपराह्न २ बजेसम्मको भएको उल्लेख गर्दै उनले भोजपुर लगायत कतिपय जिल्लामा केही कम मत खसेको देखिएको बताए।

छिटपुट घटनाबाहेक अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको गृह मन्त्रालयले जनाएको छ।

बिहान मतपत्र गलत मतपेटिकामा खसाइएका लगभग ६० वटा घटना प्रकाशमा आएको अधिकारीहरूले बताएका छन्।

त्यसबारे निर्वाचन आयोगले केही निर्णय लिने ठानिएको छ। मतदान बिथोल्न प्रयास गर्ने व्यक्तिहरू विरूद्ध एकाध ठाउँमा सुरक्षाकर्मीले बल प्रयोग गरेका विवरण आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *