११५ वर्षमा मतदान गर्ने यी जेष्ठ नागरिक

काठमाडौं । पाँचथर र इलाममा ११५ वर्षका जेष्ठ नागरिकले मतदान गरेका छन् । पाँचथरकी ११५ वर्षीया मनरानी आङदेम्बेले नवमीडाँडास्थित तिर्तिरे माध्यामिक विद्यालय केन्द्रमा मतदान गरिन् । उनको नागरिकतामा १९६४ जेठ ११ को जन्ममिति रहेको छ ।

यस्तै, इलामको शिकारीभञ्ज्याङमा पनि ११५ वर्षकै माबहादुर राईले मतदान गरेका छन् । फाकफोकथुम गाउँपालिका–७, शिकारी भञ्ज्याङस्थित सिंहदेवी माध्यमिक विद्यालय केन्द्रमा उनले मतदान गरेका हुन् । उनको नागरिकतामा जन्ममिति १९६४ साल लेखिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत जारी मतदानमा हालम्म ३२ प्रतिशत मत खसको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार १२ ः४५ बजेसम्म करिब ३२ प्रतिशत मत खसेको हो ।

पत्रकार सम्मेलनमा उनले सामान्य छिटपुट घटनाबहेक देशभर शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको बताए । केही स्थानमा केहीबेर मतदान स्थगित भएको बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत मतदानका लागि निर्वाचन आयोगले निर्धारण गरेको समय सकिएको छ । आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो । निर्धारित समय सकिए पनि मतदान भने जारी छ ।

मतदान नसकिएका ठाउँमा मतदान केन्द्र परिसरमा रहेकाहरुले समय सकिए पनि मतदान गर्न पाउने आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । “आयोगले तोकेको समय सकिए पनि रिङमा पुग्नुभएकाहरुले मतदान गर्न पाउनुहुन्छ,” उनले भने ।

आयोग स्रोतका अनुसार ५० प्रतिशतको हाराहारीमा मत खस्नेछ । “मतदानमा उत्साह देखिएन । ५० प्रतिशत आसपासमा मत खस्ने अनुमानित रिर्पोट छ । सकारात्मक प्रतिक्रिया छैन,” स्रोतले भन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *