गुल्मीको कालिगण्डकी २ अर्बेनीमा पुनः मतदान हुने

गुल्मी । गुल्मीको क्षेत्र नं. १ अन्तर्गत कालिगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा मतदान स्थगित भएको छ ।

निर्वाचन प्रक्रिया चलिरहेको समयमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो ।

त्यस्ता मतपत्र ५५ वटा रहेको बताइएको छ । उक्त मतदान केन्द्रमा पुन: मतदान अधिकृतसहितको टोली पठाएर मतदान गर्ने निर्णय भएको छ ।

तर, मतदान कहिले गर्ने भन्ने विषयमा छलफल भइरहेको मुख्य निर्वाचन अधिकृत बषन्तराज पौडेलले जानकारी दिए । दुई लाख २३ हजार ६१५ मतदाता रहेको गुल्मीमा आज भएको निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।

यो क्षेत्रमा नेपाली कांग्रेसका चन्द्र भण्डारी र एमाले सचिव प्रदीप ज्ञवाली चुनावी प्रतिस्पर्धामा छन् ।

१५ केन्द्रमा मतदान रोकियोः निर्वाचन आयोग

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ ।

“प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ । यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *