संकलन गर्न थालियो मतपेटिका, कति बजेबाट शुरू हुन्छ मतगणना ?

काठमाडाैं । आइतबार देशभर संसदीय चुनाव भएको छ। केही स्थानमा भएका छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सकिने क्रममा छ।

साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको भए पनि मतदान केन्द्रमा लाइन बसेका मतदाताले पछिसम्म पनि मत हालेका छन्। विविध कारणले केही समय अवरोध भएका मतदान केन्द्रमा अहिले पनि मतदान चलिरहेको छ।

मतदान सकिएका ठाउँबाट भने अहिले मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन आयोगले आजै राती सर्वदलीय बैठक गरेर मतगणना सुरू गर्ने जनाएको छ।

काठमाडौंमा १० ठाउँमा मतगणना हुँदछ । काठमाडौं क्षेत्र नं. १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा,

क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।

यसैगरी क्षेत्र नं. ५ को मतगणना टोखाको श्रीसमाज भवनमा, क्षेत्र नं. ६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नं. ७ को मतगणना बालाजुको जुडो हलमा हुनेछ ।

क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुलमा, क्षेत्र नम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नम्बर १० मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा हुने गरी तयारी गरिएको छ ।

तदानस्थलको अनुगमन सकेर देशभरका निर्वाचन अधिकृतहरु साँझदेखि सुरु हुने मतगणनास्थलको तयारीमा जुटे । चितवन, काठमाडौं, बाग्लुङ, पोखरा लगायतका जिल्लाको मतगणनास्थलमा तत्काल तारजाली लगाइयो । भरतपुरमा त ग्रिल वर्कसपका प्राविधिक झिकाएर अस्थायी वेल्डिङ नै गरेर जाली राखिएको छ ।

‘स्थानीय स्तरको जोखिम हेर्नू, अनि कतैपनि खतरा र चुनौती छ भने सुरक्षाका उपाय अपनाउनू भनेर हामीलाई निर्देशन आएको थियो । निर्णय गर्न स्वतन्त्र थियौं’ एक सहायक निर्वाचन अधिकृतले भने,

‘यसबारेमा श्रीमान (मुख्य निर्वाचन अधिकृत) लगायतसँग सरसल्लाह भयो । हिजो चितवनमा मतपत्र च्यातिएका कारण जिल्ला न्यायाधीश कवि न्यौपाने अहिलेसम्म आलोचनामुक्त हुनुभएको छैन । हामीले किन जोखिम लिने भनेर तारजाली राख्यौं ।’

केही निर्वाचन अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षा अधिकारीसँग कुराकानी गर्दा मतगणनास्थलमा तारजाली राख्न कुनै निर्देशन त छैन । तर आयोगका अधिकारीहरुले अनौपचारिक रुपमा भने सुरक्षा चुनौती मूल्यांकन गरेर आवश्यक व्यवस्था गर्न सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *