यी स्थानमा हुँदै छ काठमाडौंका १० वटा क्षेत्रको मतगणना [अपडेट ]

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आजैबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सम्बन्धित निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।

१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंको मतगणना मतदान सकिएपछि सर्वदीय बैठक बसेर आजैबाट मतगणना हुने निर्वाचन आयोगले जनाएको छ । १० वटा क्षेत्रको १० स्थानमा मतगणना हुनेछ ।

क्षेत्र नम्बर १ को मतगणना बानेश्वरको सम्मेलन केन्द्रमा, क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीको राधाकृष्ण मन्दिरमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुलमा हुनेछ ।

क्षेत्र नम्बर ४ को चपलीस्थित जेष्ठ नगरिक केन्द्रको भवनमा, क्षेत्र नम्बर ५ को मतगणना टोखा नगरपालिकाको श्री समाज भवन टोखामा हुनेछ ।

क्षेत्र नम्बर ६ को तारकेश्वर नगरपालिकाको धर्मस्थलीमा, क्षेत्र नम्बर ७ को जुडो हल बालाजुमा, क्षेत्र नम्बर ८ को गीतामाता स्कुल स्वयभूमा हुने आयोगले जनाएको छ ।

क्षेत्र नम्बर ९ को न्याथम कलेज रवी भवनमा र क्षेत्र नम्बर १० को त्रिवि स्मृति भवनमा मतगणना हुने आयोगले जनाएको छ ।

निर्वाचन आमरूपमा शान्तिपूर्ण र व्यवस्थित रह्यो : पर्यवेक्षण संस्था

निर्वाचन पर्यवेक्षण संस्थाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज भएको निर्वाचन छिटपुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र व्यवस्थितरूपमा सम्पन्न भएको जनाएको छ ।

मतदानमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै वर्ग, समुदाय, लिङ्ग र अवस्थाका मतदाताको उत्साहवद्र्धक सहभागिता भएको आम निर्वाचन पर्यवेक्षण समिति नेपाल (जियोक) ले जानकारी दिएको छ ।

निर्वाचन शान्तिपूर्ण हुनुमा दल, उम्मेदवार र मतदाताको व्यवहार संयमित, सहयोगात्मक र शान्त भएको पाइएको संस्थाका महासचिव कृष्णमान प्रधानले बताए ।

बिहान प्रारम्भिक चरणमा मतदाताको पातलो उपस्थिति देखिए पनि दिउँसो मतदाताको चाप र उपस्थितिमा सुधार आएको थियो । उक्त संस्थाले मुलुकका ३६ जिल्लाको दुई सय ५० पालिकामा राष्ट्रियस्तरका ३०, जिल्लास्तरका ३६ र स्थानीय तहका दुई सय ८४ पर्यवेक्षक खटाएको थियो ।

पूर्वप्रधानन्यायाधीश, पूर्वप्रमुख निर्वाचन आयुक्त र पूर्वमुख्य सचिवसहितको १० विशेष पर्यवेक्षक टोलीले दिएको प्रारम्भिक प्रतिवेदनका आधारमा संस्थाले निष्कर्ष निकालेको उल्लेख गरेको छ ।

यसैगरी राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले निर्वाचन शान्तिपूर्ण रहे पनि विगतका निर्वाचन जस्तो मतदातामा उत्साह कम रहेको तथा मतदान प्रतिशत पनि घट्न सक्ने आकलन गरेको छ ।

उक्त संस्थाले यस निर्वाचनमा एक हजार आठ सय पर्यवेक्षक खटाएको नियोगका कार्यकारी निर्देशक विकल श्रेष्ठले बताए । उक्त संस्थामा रहेका एक पूर्वप्रमुख निर्वाचन आयुक्तसहितको टोलीले निर्वाचनको पर्यवेक्षण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *