काठमाडौं क्षेत्र नम्बर १ र ४ को मतगणना आजै रातिदेखि गरिने

काठमाडौं । काठमाडौंका दुई निर्वाचन क्षेत्रमा आजै रातिदेखि मतगणना हुने भएको छ । सबै मतदानस्थलबाट मतपेटिका संकलन भएको र सर्वदलिय बैठकबाट समेत सहमती जुटेकाले काठमाडौंको १ र ४ निर्वाचन क्षेत्रमा मतगणनाको तयारी भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले दुई निर्वाचन क्षेत्रमा तत्काल मतगणना सुरु हुने बताए । उनका अनुसार आइतबार रातिसम्ममा गणना सुरू भइसक्नेछ ।

काठमाडौं-१ को मतगणना संघीय संसद भवन रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुनेछ भने काठमाडौं–४ को गणना बुढानीलकण्ठस्थित जेष्ठ नागरिक आश्रम परिसरमा हुनेछ ।

अरु निर्वाचन क्षेत्रबाट समेत मतपेटिका ल्याउने काम भइरहेको भन्दै उनले सर्वदलीय सहमति भए अरु ठाँउमा समेत आजैदेखि गणना सुरू हुने बताए ।

काठमाडौं-३ मा भने दलका प्रतिनिधिहरुले नै सोमबार विहानदेखि गणना गर्न अनुरोध गरेका छन् ।

काठमाडौंमा कुल ५४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले ५४ प्रतिशत मत खसेको अनुमान गरिएको बताए ।

मत गणना भने कहिलेबाट भन्ने निर्णय सर्वदलीय बैठकबाट हुने उनले बताए ।

“५४–५५ प्रतिशत मत खसेको छ,” उनी भन्छन्, “मतपेटिका कतिबेला आइसक्छ । १–२ घण्टाभित्र आइसक्यो, सर्वदलीय बैठकमा अहिले बस्ने भन्ने सहमति भए आजै हुन्छ । नभए भोलिबाट हुन्छ ।”

चितवनमा ६० प्रतिशत बढी मत खसेको छ । जिल्ला निर्वाचन कार्यलयका अधिकृत भीमसेन कार्कीका अनुसार चितवनका तीनवटै क्षेत्रमा ६० प्रतिशत भन्दा बढी मत खसेको छ ।

उनले भने, “करिब ३८ वटा मतदान केन्द्रबाट मात्र मत प्राप्त भएको छ । अझै ९० वटा मतदान केन्द्रबाट मत आउन बाँकी नै छैन ।“

रातभर सबै ठाउँबाट मत संकलन हुन सक्ने उनले जनाए । उनका अनुसार बिहान ७ बजे सर्वदलीय बैठक गरी ९ बजेबाट मतगणना गर्नेगरी तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *