नामिबिया भ्रमणका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । नामिबियामा डिसेम्बर २ देखि ८ तारिखसम्म सञ्चालन हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार साँझ रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । लिग–२ सिरिजमा नेपाल, नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाली टोलीमा कप्तान पौडेलसहित आशिफ शेख, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुल्सन झा, करण केसी, हरिशंकर शाह र नन्दन यादव रहनुभएको छ ।

नामिबिया भ्रमणको तयारीका लागि नेपालले हालै त्रिवि मैदान कीर्तिपुरमा संयुक्त अरव इमिरेट्ससँग तीन खेलको एकदिवसीय सिरिज खेलेको थियो । सिरिजको उपाधि नेपालले २–१ ले जितेको थियो । लिग–२ मा हाल नेपाल १७ अङ्कसहित छैटौँ स्थानमा छ ।

कतार विश्वकप २०२२ को उद्घाटन खेल

कतार विश्वकप २०२२ को उद्घाटन खेलमा आज आइतबार राति आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ ।

६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार र इक्वेडरबीचको उद्घाटन खेल हुनेछ । समूह ‘ए’ अन्तर्गतको उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

मध्ये पूर्वी एसियाली राष्ट्र कतारले पहिलो पटक विश्वकप खेल्न लागेको हो । आयोजक राष्ट्रको रुपमा कतार विश्वकपमा सिधै छनोट भएको हो ।

कतार विश्वकपको डेब्यु खेलमै जित निकाल्न चाहन्छ । जितसँगै कतार घरेलु विश्वकपमा सानदार सुरुआत गर्न चाहन्छ।

कतार एएफसी एसियन कप २०१९ को च्याम्पियन समेत हो । तर, दक्षिण अमेरिकी राष्ट्र इक्वेडरविरुद्ध पहिलो खेल खेल्नु कतारको लागि चुनौती हुनेछ ।

इक्वेडरले यस अघि तीन संस्करणको विश्वकप खेलिसकेको छ । इक्वेडरको यो चौंथो विश्वकप हो । जर्मनीमा भएको २००६ को विश्वकपमा इक्वेडरले समूह चरण पार गरेको थियो । समूह ‘ए’ मा रहेको इक्वेडर त्यहिँ सफलतालाई दोहोर्याउने योजनामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *