भक्तपुर-२: कांग्रेसका थापालाई उछिन्दै अगाडि लागे एमालेका बस्नेत

काठमाडौं, ५ मंसिर । भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता कायम गरेका छन् । यसअघि नेपाली कांग्रेसका दुर्लभ थापा अगाडि लागिरहेका थिए ।

१९ हजार ७ सय ७९ मत गणना हुँदा बस्नेतले ६ हजार ८ सय २४ मत ल्याएका छन् भने दोस्रो स्थानमा झरेका कांग्रेसका थापाले ६ हजार ४ सय ८४ मत ल्याएका छन् ।

काठमाडौं-८ मा घण्टी र लौरोको प्रतिस्पर्धा, एमाले र समाजवादी पछाडि

काठमाडौं-८ को तीन वटा वडाको मतगणनाको सुरुवाती परिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

सोमबार बिहान १० बजेदेखि डल्लुस्थित गीता माता विद्यालयमा भइरहेको गणनामा स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ र हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी अघि–पछि देखिएका छन् । यो क्षेत्रमा अहिले काठमाडौं महानगरपालिकाको वडा नं. १३ र १९ को मतगणना जारी छ ।

श्रेष्ठ विवेकशील साझा पार्टीबाट निर्वाचन बागमती प्रदेशसभाका पूर्वसदस्य हन् । सायमी सडक विस्तार अभियानविरुद्ध आन्दोलन गरेर चर्चामा आएका अभियन्ता हुन् ।

साँझ साढे ५ बजेसम्मको विवरण लौरो चुनाव चिह्नका सायमीले १८ सय ५२ मत प्राप्त गरेका छन् भने घण्टी चिह्न बाहक विराजभक्तले १६ सय ७३ मत ल्याएका छन् ।

उनीहरुलाई पछ्याउँदै गरेका नेकपा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यको ८५७ मत छ भने चौथो स्थानमा रहेका सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठले ६७० मत ल्याएका छन् । श्रेष्ठ वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हुन् ।

अपराह्न साढे ३ मा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार हाम्रो नेपाल पार्टीका सायमीले १३ सय ३७ र स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले एक हजार ९१ मत प्राप्त गरेका थिए । तेस्रोमा नेकपा एमाले र चौथोमा एकीकृत समाजवादी थियो ।

कार्यालयले योभन्दा अगाडि दुईपटक सार्वजनिक गरेको मतपरिणाममा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्तले अग्रता लिएका थिए । मध्याह्न १२ः३३ मा सार्वजनिक परिणाम अनुसार स्वतन्त्र पार्टीका उनको ६२१ मत थियो भने सायमीको ६०३ मत थियो ।

बिहान ११ः४९ मा सार्वजनिक मतपरिणाममा विराजभक्तको ६०७ मत थियो भने सायमीको ५९१ थियो । नेकपा एमालेको ३०५ र एकीकृत समाजवादीको २१३ मत थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *