चितवन-२ मा रवि लामिछानेले घटाउँदै मतान्तर, मध्यरातमा आयाे अपडेट

काठमाडाैं । चितवन क्षेत्र नम्बर २ मा आइतबार मतगणना सुरू भएयता पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले हजार भोट कटाएका छन्। पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारसँग उनको मतान्तर घट्दै गएको छ।

अहिलेसम्म ४८३३ मत गन्दा नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्। उनले १७२६ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका कांग्रेसका उमेश श्रेष्ठले १४५० मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने लागातार तेस्रो स्थानमा छन्। उनले ११०१ मत पाएका छन्।

लमजुङ अपडेट, मतान्तर घट्दै 

माओवादी केन्द्रका महासचिव देव गुरुङले लमजुङमा मतान्तर साघुरो बनाएका छन्। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग यसअघि ४ सय २१ मतान्तरले पछि रहेका महासचिव गुरुङ अहिले २ सय ४९ मतले मात्र पछाडि छन्।

एमालेको प्रभाव रहेको क्लोलोसोधार गाउँपालिकामा सोचेभन्दा बढी मत प्राप्त गर्दा महासचिव गुरुङको मतान्तर घट्दै गएको हो। सो गाउँपालिकामा २०७९ को स्थानीय तह निर्वाचनमा एमालेले ‘क्लीन स्वीप’ गरेको थियो।

गठबन्धनको प्रभाव रहेको दूधपोखरी गाउँपालिकामा भने उसले अपेक्षा गरे अनुसार नै अग्रता हासिल गरेको छ।

मतगणनाको पछिल्लो परिणाम अनुसार गणना भएका ७ हजार ५ सय २७ मत मध्ये एमाले उपमहासचिव गुरुङले ३ हजार ६ सय ४८ मत प्राप्त गरेका छन् भने महासचिव गुरुङले ३ हजार ३ सय ९९ मत हासिल गरेका छन्।

कैलाली २ मा नागरिक उन्मुक्तिका उम्मेदवार झण्डै तेब्बर मतले अगाडि

कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टी झण्डै तेब्बर मतले अगाडि देखिएको छ। १२ सय मत गणना गर्दा उन्मुक्ति पार्टी निकटतम् प्रतिष्पर्धी दल नेकपा माओवादी केन्द्रभन्दा झण्डै तेब्बर मतले अगाडि देखिएको हो।

प्राप्त परिणामअनुसार उन्मुक्ति पार्टीको चुनाव चिह्न ढकियामा ६६३, माओवादीको चुनाव चिह्न हँसिया हतौडामा २५३ र नेकपा एमालेको चुनाव चिह्न सूर्यमा १७५ मत आएको छ।

कैलाली–२ मा उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरी, माओवादी केन्द्रका भगतबहादुर बडुवाल र एमालेबाट झपटबहादुर रावल प्रतिनिधिसभा सदस्य उममेदवार छन्।

उन्मुक्ति पार्टीले कैलाली–१ र ३ मा पनि सुरुवातबाटै अग्रता लिएको छ। यो दल स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगमा दर्ता भएको थियो। उक्त निर्वाचनमा उन्मुक्तिले कैलालीका ३ स्थानीय तह जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *