छत्रकोटबाट भण्डारीको औपचारिक बिदाई

गणेश सिंजाली
गुल्मी । छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीलाई गाउँपालिकाले एक कार्यक्रमकाबीच औपचारिक विदाई गरेको छ ।

भण्डारी २०७७।०७।०२ गते देखि ०७७ चैत्रसम्म छत्रकोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्य गर्दै आउनुभएको थियो । उप-सचिवमा पढुवा भएसंगै भण्डारी आन्तरिक तथा कानुन मन्त्रालय बुटवलमा सरुवा हुनु भएको हो ।

बिदाई कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष मधुकृण पन्तले भण्डारीको कार्य कौशलताको चर्चा गर्नुभयो । उहाँले भण्डारी एक कुसल प्रशासक रहेको भन्दै उहाँको रचनात्मक र सकारात्मक कार्य सदैब प्रशंसायोग्य भएको बताउनु भयो ।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष धातानन्द भण्डारीले भण्डारीको छत्रकोटको बसाईलाई लाईटरको झिल्कोको संज्ञा दिनुभयो । छोटो समयमा पनि निकै प्रभावकारी काम भएको भन्दै उहाँले भन्नुभयो, ‘अझै लामो समय यहाँ रहेको भए उहाँका कामको रफ्तारले साँच्चै गति लिने थियो । तर छोटो समय पनि उहाँको काम प्रतिको बफादारिताले झिल्को छोडेको छ । लामो समय भएको भए साच्चिकै छत्रकोट बल्ने थियो ।’

कार्यक्रममा उपाध्यक्ष नर्मदा भण्डारी तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत पुण्य प्रसाद पौडेल र वडा अध्यक्ष थम्मन बहादुर ज्ञवालीले भण्डारी आफ्नो कामप्रति कहिल्लै नथाक्ने सधै सेवाग्राहीको दुःख नै मेरो दुःख हो भनेर कम गर्ने कुशल प्रशासक रहेको बताउनुभयो ।

कार्यक्रममा भण्डारीले आफ्नै जन्मभुमिमा कार्य गर्दा छुट्टै आनन्द महसुस भएको बताउनुभयो । ‘कर्मचारी साथीहरुले सेवा प्रवाह गर्दा जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउन सकियो भने यसले विकास, समृद्धि र जनसन्तुष्टिको अपेक्षा अनुरुप कामले गति लिन्छ,’ उहाँले भन्नुभयो । साथै छोटो समयको यस छत्रकोट गाउँपालिकाको बसाईमा सहयोग गर्नुहुने सम्पुणर् जनप्रतिनिधि, कर्मचारि सबैलाई धन्यबाद ब्यक्त गर्नुभयो ।

गाउँपालिका अध्यक्ष मधुकृण पन्तको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम हुमनाथ पन्थको सञ्चालनमा भएको थियो । कार्यक्रममा जनप्रतिनिधी तथा शाखागत कर्मचारीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *