जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले देखाइ दिए ‘पावर’ यति धेरै मतान्तरले अगाडि

काठमाडौं । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मत अन्तरले अग्रता कायम राखेका छन् । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले १ हजार ४४९ मत पाएकी छन् । ज्ञानेन्द्र गोमाभन्दा २ हजार ६४२ मतअन्तरले अगाडि छन् । पहिलो पटक संसदीय निर्वाचन लडेका शाही राप्रपाका प्रवक्तासमेत हुन् ।

नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ७९८ र नेपाल मजदुर किसान पार्टीका डिल्ली प्रसाद काफ्लेले १४९ मत पाएका छन् ।

जुम्लामा २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका गजेन्द्र महत विजयी भएका थिए ।
जुम्लाका ६८ हजार मतदातामध्ये करिब ६५ प्रतिशत खसेको थियो ।

काठमाडौं–५ मा प्रदीप पौडेल १,८१६ मतले अगाडि

काठमाडौं क्षेत्र नम्बर–५मा नेपाली कांग्रेसका प्रदीप पौडेलले झण्डै दुई हजार मतको अग्रता कायम गरेका छन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पछि पार्दै पौडेलले अग्रता कायम गरेका हुन् ।

पौडेलले ६ हजार १८१ मत प्राप्त गरेका छन् । एमालेका पोखरेलले चार हजार ३६५ मत पाएका छन् । दुई उमेदवारबीच १,८१६ मतको अन्तर छ ।

झापा १ मा विश्वप्रकाशलाई ४ हजार मतको अग्रता

झापा क्षेत्र नंं १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ४ हजार २९९ मतको अग्रता कायम गरेका छन् । मंगलबार बिहान सार्वजनिक परिणाम अनुसार शर्माले ११ हजार ३८५ मत ल्याएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता अग्नि खरेलले ७ हजार ८६ मत पाएका छन् ।

झापा-५ मा ओलीको अग्रता कायमै

झापा क्षेत्र नम्बर-५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायम गरेका छन्। पछिलो मतपरिणाम अनुसार ओली ८९७८ मतसहित पहिलो स्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ५४४८ मत प्राप्त गरेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेल १४८६ मतसहित तेस्रो स्थानमा छन् भने जनमत पार्टीका भीम राजवंशी ८६८ मतसहित चौथो स्थानमा छन्। झापा-५ मा एमाले र राप्रपाबीच चुनावी तालमेल रहेको छ। यसअघिको निर्वाचनमा पनि यो क्षेत्रमा ओली नै चुनिएका थिए।

गगन र राजनबीच साढे ५ हजारको मतान्तर

काठमाडौं क्षेत्र नम्बर ४का उम्मेदवार गगन थापाले मतान्तर फराकिलो बनाएका छन्। पछिल्लो मतपरिणाम अनुसार उनले १७ हजार ५१६ मत पाइसकेका छन्। यता नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले ११ हजार ९४८ मत पाएका छन्।

अहिलेसम्म काठमाडौंको वडा १, ७ र बुढानिलकण्ठको वडा १,२, ८,९, १०, ११, १२, १३ को मत गणना भएको हो। यति मत गणना हुँदा उनीहरूबीचको मत अन्तर ५५६८ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *