डडेलधुरा ताजा अपडेट : देउवा र सागर ढकालकाे मतमा कति फरक ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रतालाई निरन्तर बढाएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार सागर ढकालभन्दा उनले दोब्बर बढी मत ल्याएका हुन् ।

हालसम्म १३ हजार ३५१ मतगणना भएको छ । जसमा देउवाले ६ हजार ६४२ मत पाएका छन् । ढकालले ३ हजार ४२४ मत ल्याउँदा एमालेको सहयोगमा उमेदवारी दिएका कांग्रेस बीपीका उपाध्यक्ष कर्णबहादुर मल्लले १ हजार ८६२ मत पाएका छन् । यहाँ ८३७ मत बदर भएको छ ।

सुर्खेतकाे सिम्तामा मतदान सुरु

सुर्खेतको सिम्ता गाउँपालिका-६ मा आइतबार स्थगित भएको केन्द्रमा मतदान सुरू भएको छ । निर्वाचन कार्यालयका अनुसार सिम्ता गाउँपालिका–६ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो ।

मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधि सभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि उक्त केन्द्रमा विवाद सिर्जना हुँदा मतदान स्थगित गरिएको थियाे । यहाँ २ हजार ९ सय मतदाता छन् ।

काभ्रे-२ मा गोकुल बास्कोटाभन्दा हुमागाई १२ सय बढी मतले अघि

काभ्रे क्षेत्र नम्बर-२ मा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले अग्रता कायमै राखेका छन्। उनले ४ हजार ११५ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गोकुल बास्कोटाले २ हजार ८५३ मत ल्याएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ५४९ मतसहित तेस्रो स्थानमा छन्। अघिल्लो निर्वाचनमा यो क्षेत्रमा एमालेका गोकुल बास्कोटा नै चुनिएका थिए।

नवलपरासी पूर्व-१ मा नेपाली कांग्रेसका डा. शशांक कोइरालाले अग्रता बढाएका छन् । कांग्रेसका उम्मेदवार डा.शशांक कोइरालाले ६१९ मतले अग्रता कायम गरेका हुन् ।

कोइरालाले ७ हजार ८ मत ल्याउँदा एमालेका कृष्ण पौडेलले ६ हजार ३८९ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले १४८ मत र राप्रपाका डा.मोहनी लाल भुसालले ३४ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *