चितवन-२ मा फेरि तेस्रोमा झरे रवि लामिछाने

काठमाडाैं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फेरि तेस्रो स्थानमा झरेका छन्। उनी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ९ मतले पछि परेका छन्।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका श्रेष्ठले २ हजार ७२६ मत ल्याएका छन् भने लामिछानको २ हजार ७१७ मत रहेको छ। यहाँ अग्रता भने नेकपा एमालेका कृष्णभक्त पोखरेलले कायमै राखेका छन्। पोखरेलले ३ हजार २५४ मत प्राप्त गरेका छन्।

ललितपुर ३ मा अग्रता बढाउँदै तोसिमा

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले नेकपा एमालेका अमृत खड्कासँग अग्रता बढाएकी छिन् ।

तोसिमाले ५ हजार १२३ मत ल्याउँदा एमालेका खड्काले ३ हजार ९५९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार २९३ मत प्राप्त गरेकी छिन् ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल जित नजिक

काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ जित नजिक रहेका छन् । श्रेष्ठले १० हजार २० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८ हजार ७२५ मत ल्याएका छन् ।

सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ५ हजार २७९ मतसहित तेस्रो स्थानमा छिन् । राप्रपाका देवेन्द्र प्रधान ३ हजार ५६१ मतसहित चौथो स्थानमा छन् भने साझा पार्टीका मिलन पाण्डे १ हजार ८५० मतसहित पाँचौं स्थानमा छन् ।

मोरङ-३ मा कांग्रेस उम्मेदवार सुनिल शर्मा एमाले उम्मेदवार भानुभक्त ढकालभन्दा दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन्।

शर्माले अहिलेसम्म १८८७ मत पाउँदा ढकालले ८७८ मत पाएका छन् भने राप्रपाकी उम्मेदवार रेखा थापाले ३८९ मत पाएकी छन्।

सप्तरी २- उपेन्द्र यादव सीके राउतभन्दा ६ हजार मतले पछाडि

सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले भारी मतान्तरका साथ अग्रता कायमै राख्नुभएको छ । डा। राउत १२७८१ मत ल्याउँदा उहाँको प्रतिष्पर्धी जसपाका अध्यक्ष उपेन्द्र यादवले ६३४७ मत पाउनुभएको छ ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका लोसपाका जयप्रकाश ठाकुरले २ हजार ४२१ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । सप्तरी २ मा करिब ६२ हजार मत खसेको थियो । जसमध्ये करिब साढे २३ हजार गणना भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *