कतार विश्वकप: आज चार खेल हुँदै, कुन-कुन देश भिड्दैछन् ?

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ को दुई दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । उपाधि दाबेदार अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘डी’ मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ । विश्वकप अन्तर्गत तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र मेक्सिकोबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

त्यस्तै चौंथो खेलमा साविक विजेता फ्रान्सले अष्ट्रेलियाको सामना गर्नेछ । समूह ‘डी’ मा रहेको फ्रान्स र अष्ट्रेलियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

दोस्रो ‘पेले’ बन्ने लक्ष्यमा एमबाप्पे

कतारमा जारी विश्वकप फुटबलमा उपाधिको दाबोदारमध्ये एक टोली हो–फ्रान्स। समूह ‘डी’मा रहेको फ्रान्सले सन् २०१८ को उपाधिसमेत जितेको थियो। यसपटक पनि उपाधिमा कब्जा जमाउँदै लगातार दोस्रोपटक विश्वकपको उपाधि जित्ने फ्रान्सको दाउ हुनेछ।


यद्यपि यसपटक फ्रान्सको टोलीमा करिम बेन्जेमाको अभाव भने खड्किन सक्छ। तर, पछिल्लो समय राम्रो लयमा रहेका किलियान एमबाप्पेले टोलीलाई उपाधि जिताउनमा महत्वपूर्ण योगदान दिन सक्छन्।

एमबाप्पे विश्वकप सकिएको दुई दिनपछि २४ वर्षको हुँदै छन्। यस्तो अवस्थामा उनले आफ्नो टोलीलाई उपाधि जिताउन सकेको अवस्थामा उनी २४ वर्षभन्दा कम उमेरमा नै आफ्नो टोलीलाई दुईपटक विश्वकपको उपाधि जिताउने पेलेपछि दोस्रो खेलाडी बन्नेछन्। आजै मध्यराति फ्रान्सले अष्ट्रेलियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।

पेलेले आफू २४ वर्ष पुग्नुअघि नै ब्राजिललाई दुईपटक विश्वकपको उपाधि जिताएका थिए। पीएसजीबाट व्यावसायिक फुटबल खेल्दै आएका एमबाप्पे गत गर्मीयाममा रियल मड्रिड जान अस्वीकार गर्दै पीएसजीमा आफ्नो सम्झौता नवीकरण गरेका थिए। त्यसयता उनी क्लबको विभिन्न विवादमा भने मुछिँदै आएका छन्।

यद्यपि विवादले उनको प्रदर्शनमा भने कुनै असर पारेको छैन। उनीले पीएसजीमा यसै सिजनमा पनि राम्रो प्रदर्शन गर्दै आएका छन्। सन् २०२२/२३ को सिजनमा एमबाप्पेले पीएसजीका लागि २० खेलमा १९ गोल गरिसकेका छन्। यो क्रममा उनले ५ गोलमा एसिस्ट पनि गरेका छन्।

सन् २०१८ को विश्वकप जितेयता एमबाप्पेको प्रदर्शन निरन्तर निखारिँदै गएको छ। उनले २४ वर्षको उमेरमा सात खेल खेलिसकेका छन्। यो उमेरमा सबैभन्दा बढी खेल खेल्ने कीर्तिमानमा उनी अर्जेन्टिनाका लियोनेल मेस्सीभन्दा एक खेलले मात्र पछाडि छन्।

फ्रान्सको टोली सन्तुलित र उत्कृष्टमध्येको एक हो। तर, लगातार दोस्रोपटक विश्वकपको उपाधि उचाल्न भने उसलाई त्यति सजिलो छैन।

कतार विश्वकपमा फ्रान्सका केही महत्वपूर्ण खेलाडी चोटको कारण मैदानमा उत्रिनेछैनन्। पाउल पोग्बा, एनगोलो कान्टे, किम्पेम्बे, एनकुन्कु र बेन्जेमा पनि चोटको कारण मैदानमा उत्रिनेछैनन्।

यस्तोमा एमबाप्पेको काँधमा उनीहरुको अभाव खड्किन नदिनुपर्ने दबाब छ। एमबाप्पेसँगै फ्रान्सको टोलीमा एन्टोनी ग्रिजमेन र औस्माने डेम्बेलेजस्ता उत्कृष्ट खेलाडी पनि छन्। यद्यपि यसपटकको विश्वकपमा फ्रान्सको भविष्य धेरै हदसम्म एमबाप्पेको प्रदर्शनमा निर्भर रहन सक्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *