सी के राउतकाे जनमत पार्टीले खाता खुल्यो, प्रदेश सभामा महेश विजयी

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) मा जनमत पार्टीबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार महेश प्रसाद यादव विजयी भएका छन् । योसँगै जनमत पार्टीको खाता खुलेको हो ।

उनी १३ हजार ३२५ मत ल्याई विजयी भएका हुन् । यादवका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका उमेदवार उमेशकुमार यादवले ७ हजार २३ मत ल्याए ।

विजयी भएका यादव लामो समय देखि माओवादी केन्द्रमा रहेर राजनीति गरेका थिए । अहिलेका निकटतम प्रतिद्वन्द्वी उमेश पनि उनी सँगै माओवादीमा सक्रिय राजनीति गरेका व्यक्ति हुन् ।

यसपालिको निर्वाचनमा माओवादीले महेशलाई टिकट नदिएपछि उनी जनमत पार्टीबाट उम्मेदवारी दिएर विजयी भए ।

सीके राउत जितनजिक

मधेश प्रदेशमा जारी मतगणनामा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवारहरु पछाडी परेका छन्।

मधेश प्रदेशमा ठूलै शक्तिको रुपमा उदय हुन लागेको सिके राउत नेतृत्वको जनमत पार्टी अधिकांश क्षेत्रमा प्रत्यक्ष तर्फ पछाडी परेपनि राम्रै मत तानि रहेको छ। जनमत समानुपातिक तर्फ मधेश प्रदेशको सबैभन्दा ठूलो दल बन्ने संकेत देखिएको छ।

जारी मतगणना अनुसार जनमत पार्टीका अध्यक्ष डा.सिके राउत सप्तरी २ मा जीत तर्फ अग्रसर छन्। राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले पछाडि छाडेका छन्।

ताजा मतपरिणाम अनुसार राउतले १३ हजार २ सय ९५ मत ल्याउँदा यादवले ६ हजार ५ सय ७० मत मात्रै प्राप्त गरेका छन्। राउत र यादवबीच ६ हजार ७ सय २५ मतको मतान्तर छ।

त्यस्तै लोसपाका जयप्रकाश ठाकुर २ हजार ६ सय २ मत ल्याएर तेस्रो स्थानमा छन्।  मधेश केन्द्रीत दल लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि महोत्तरी ३ मा पछि परेका छन्। उनलाई एमालेका बागी उम्मेदवार रामआधार कापरले पछाडी पारेका हुन्।

महोत्तरी ३ मा कापर २ हजार २ सय ४ मत ल्याएर अग्रस्थानमा छन्। लोसपा अध्यक्ष ठाकुर भने १ हजार १ सय ९६ मत ल्याएर उनलाई पछ्याई रहेका छन् । जसपाका हरिनारायण यादव १ हजार ९९ मत ल्याएर तेस्रो स्थानमा छन्।

लोसपाका बरिष्ठ नेता राजेन्द्र महतो समेत सर्लाही २ मा पछि परेका छन्। उनलाई माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले उछिनेका हुन्।

यादवले १ हजार १ सय १३ मत ल्याउँदा महतोले भने ८ सय ४२ मत मात्रै ल्याएका छन्।

धनुषा ३ मा लोसपाका अनिल कुमार झा शुरुदेखि नै पछाडि छन्। धनुषा ३मा एमाले नेतृ जुलीकुमारी महतो ४ हजार २ सय ६६ मत ल्याएर अग्रस्थानमा छिन् भने लोसपाका झा ३ हजार २ सय २० मत ल्याएर उनलाई पछ्याई रहेका छन्।

यो क्षेत्रमा जनमत पार्टीका शम्भुनाथ झा १ हजार ३ सय ८६ मत ल्याएर तेस्रो स्थानमा छन्। सर्लाही ४मा कांग्रेसका बागी उम्मेदवार अमरेश कुमार सिंह अग्रस्थानमा छन्।

सिंहले २ हजार २ सय ५९ मत ल्याउँदा कांग्रेसका नागेन्द्रकुमार रायले २ हजार २ सय ५४ मत ल्याएका छन्। यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार मधुमाला यादवले १ हजार ६ सय ३३ मत प्राप्त गरेकी छन्।

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही जिततर्फ

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले अग्रता कायमै राखेका छन्। हालसम्म १० हजार मतगणना हुँदा राप्रपाका शाहीले ५ हजार ५६९ प्राप्त गरेका छन्। अग्रता फराकिलो बनाउँदै उनले आफ्नो जित सुनिश्चित गर्ने दिशामा अघि बढेका छन्।

यस्तै, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवरले २ हजार ३६० मत प्राप्त गरेकी छन्।यहाँएमालेका रतननाथ योगी १ हजार २९६, नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काँफ्ले २२२ मत प्राप्त गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *