कास्की २ मा विद्याकाे ‘सरप्राइज कम्ब्याक’, सिधै पहिलाे नम्बरमा

पोखरा । कास्की २ मा मतगणनाको दोस्रो दिन चलिरहँदा नेकपा एमालेकी विद्या भट्टराईले पहिलोपटक अग्रता लिएकी छन् । पछिल्लो मत परिणामअनुसार विद्याले पाँच हजार ५८९ मत पाएकी छन् ।

यस्तै, सोमबारदेखि अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले भने हाल पाँच हजार १९३ मत ल्याउँदै पछि परेका छन् ।

त्यस्तै, नेकपा एसका तर्फबाट गठबन्धनका उम्मेदवार श्रीनाथ बरालले तीन हजार ३६७ मत प्राप्त गरेका छन् । अहिले कास्की २ मा पोखरा महानगरपालिका २१ नम्बर वडाको मतगणना भइरहेको छ ।

यो नेकपा एमालेको राम्रो पकड भएको क्षेत्र हो । यसअघि पोखरा १५, ७ र १७ नम्बर वडाको मतगणना गरिएको थियो । पोखरा २१ बाट ५ हजार ७१ मत खसेको थियो । कास्की २ मा कुल ४९ हजार ९२० मत खसेको थियो ।

समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाउने पार्टी एमाले, अन्यले कति पाए ?

जारी मतगणनामा समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाउने पार्टी नेकपा एमाले भएको छ । एमालेले हालसम्म १ लाख ३ हजार ७ सय ६८ मत पाएको छ । यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८८ हजार ४ सय ४४ मत पाएको छ ।

यस्तै, तेस्रो नम्बरमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । रास्वपाले ४६ हजार ६ सय ७८ मत पाएको छ । राप्रपा २६ हजार ३ सय ७८ मतसहित पाँचौं, जसपा ८ हजार १ सय ५४ मतसहित छैटौं तथा जनमत पार्टी ७ हजार ६ सय ८१ मतसहित सातौं स्थानमा छ ।

नागरिक उन्मुक्ति पार्टी ५ हजार ५ सय ६२ मतसहित आठौं, नेमकिपा ५ हजार ४ सय ३६ मतसहित नवौं तथा नेकपा एस ५ हजार २ सय १४ मतसहित दशौं स्थानमा छ ।

उदयपुर– २ बाट एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् ।

रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाएका उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत ल्याए । त्यसैगरी स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार ३७९ मत ल्याउँदै तेस्रो भए ।

४ गाउँपालिका र १ नगरपालिका सहित ५ स्थानीय तह रहेको यस क्षेत्रमा रायमाझीले पहिलो पटकको चुनावी अनुभवमै जित निकालेका हुन् ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा सत्ता गठबन्धन बलियो देखिएको यस क्षेत्रमा नेपाली कांग्रेसका रामकुमार राईले बागी उम्मेदवारी दिएका थिए । जसले गर्दा एमालेको जित सहज भएको सत्तारुढ गठबन्धनमा रहेका दलका नेताहरु नै बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *