काठमाडौं-५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

काठमाडाैं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल निर्वाचित भएका छन्। उनले नेकपा एमालेका ईश्वर पोखरेललाई पराजित गरेका हुन्।

यहाँको अन्तिम मतपरिणाम आउन बाँकी छ। पछिल्लो मतपरिणामअनुसार प्रदीपले १५२३७ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी ईश्वर पोखरेलले १०१७२ मत पाएका छन्। उनीहरूबीच ५ हजार ६५ मतको अन्तर छ। यहाँ ४५ हजार ९ सय ८७ मत खसेको थियो।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् पौडेललाई बधाई दिएका छन्।

‘काठमाडौ क्षेत्र नम्बर ५ को निर्वाचन परिणाम भर्खरै सार्वजनिक भएको छ र श्री प्रदीप पौडेलजी विजयी बन्नुभएको अनौपचारिक घोषणा गरिएको छ। यस अवसरमा उहाँलाई बधाई भन्न चाहान्छु,’ पोखरेलले लेखेका छन्।

उनी अगाडि लेख्छन्, ‘निर्वाचनमा विजयी बन्न नसके पनि भविष्यमा जनतासितको सम्बन्ध/ सम्पर्कलाई थप जीवन्त बनाउने, जनताका विकास निर्माणका चाहना र आवश्यकतालाई सधैँ उच्च प्राथमिकतामा राख्ने, पारदर्शी जीवनशैली अपनाउने र निरन्तर देश हित र जनताका काममा क्रियाशील बन्ने मार्गमा पूर्ववत लागिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु!’

काठमाडौं-३ मा कांग्रेसका सन्तोष चालिसे निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का कृष्ण राईलाई पराजित गरेका हुन् । चालिसेले १५ हजार १५८ मत प्राप्त गर्दा राईले ११ हजार १९६ मत पाए ।

कास्की–३ मा एमालेको अग्रता

कास्कीको निर्वाचन क्षेत्र नं ३ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका दामोदर पौडेल बैरागीले छ हजार आठ सय ३९ मतसहित अग्रता लिएका हुन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले पाँच हजार पाँच सय ७० मतसहित पछ्याइरहेका छन् ।

यस क्षेत्रमा कूल ६१ हजार चार सय १४ मत खसेकोमा हालसम्म २० हजार आठ सय ७० मतगणना भएको छ । जसमध्ये एक हजार एक सय २० मत बदर भएको छ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका रामजीप्रसाद बराल (जीवन)ले चार हजार आठ सय ३८ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले एक हजार ५० मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *