रविको अग्रता बढेको बढ्यै, चितवन २ काे ताजा अपडेट

काठमाडाैं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले २५ सयभन्दा बढी मतले आफ्नो अग्रता कायम राखेका छन्।

सुरूआती मतगणनामा तेस्रो स्थानमा रहेका लामिछानेले मंगलबार दिउँसोबाट अग्रता लिन सुरू गरेका हुन्। त्यसपछि उनी पछि परेका छैनन्।

यहाँ अहिलेसम्म १८ हजार ४ सय ५४ मत गनिएको छ। त्यसमध्ये लामिछानेले ७५२१ मत ल्याएका छन्। उनको तुलनामा नेकपा एमालेका कृष्णभक्त पोखरेल २५२२ मतले पछाडि छन्। पोखरेलले ४९९९ मत ल्याएका छन्।

नेपाली कांग्रेसका उमेश श्रेष्ठ ४६९४ मत ल्याएर तेस्रो स्थानमा छन्।

काठमाडौं-६ ‘क’मा कांग्रेसकी हरिप्रभा खड्गी निर्वाचित

काठमाडौं क्षेत्र नम्बर ६ को प्रदेशसभा ‘क’मा नेपाली कांग्रेसकी हरिप्रभा खड्का निर्वाचित भएकी छन् । काठमाडौं महानगरपालिकाकी पूर्वउपमेयरसमेत रहेकी खड्गी ४ हजार ३५६ मतसहित निर्वाचित भएकी हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका निरेशलाल सिंह महर्जनले ३ हजार ९३६ मत पाए ।

महेशले आफ्नै क्षेत्रमा पनि लिन सकेनन् दुर्लभमाथि अग्रता

कडा चुनावी प्रतिस्पर्धा भएको भक्तपुर–२ मा निर्वतमान सांसदसमेत रहेका एमाले उम्मेदवार महेश बस्नेतलाई सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका दुर्लभ थापालाई उछिन्न मुश्किल परिरहेको छ ।

एमालेले जितको अपेक्षा राखेको यस क्षेत्रमा सुरूदेखि नै कांग्रेसका उम्मेदवार थापाले अग्रता लिइरहँदा बस्नेतलाई आफ्नो प्रभाव क्षेत्रको मत गन्दा सहज हुने अनुमान थियो ।

तर बस्नेतको आफ्नै बसोबास रहेको र विकास निर्माणका योजना पुर्‍याएको क्षेत्र गुण्डुको मतगणना सकिँदासमेत उनले थापासँगको मतान्तरलाई घटाउन सकेका छैनन् ।

समान अनुपातमा अग्रता लिइरहेका थापा र पछ्याइरहेका बस्नेतबीच चर्को प्रतिस्पर्धा हुने अनुमान यसअघि थियो । शक्तिकेन्द्रसँग निकट रहने, दलबलको राजनीतिमा माहिर र आर्थिक हिसाबले सम्पन्न यी दुई उम्मेदवारबीच भइरहेको प्रतिस्पर्धामा अन्य दलका र स्वतन्त्र उम्मेदवारहरू छायाँमा परेका छन् ।

पहिले यस क्षेत्रमा राम्रो पकड बनाएको नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार अनुराधा थापामगर, घण्टी चुनाव चिह्न भएका राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विक र राप्रपाका मोहन केसी पनि प्रतिस्पर्धामा छन् । तर उनीहरु प्रतिस्पर्धामा पछाडि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *