झापा–४ मा खुश्बु ओलीकाे भाेट कति ?

काठमाडौं । झापा क्षेत्र नम्बर ४ मा नेकपा (एमाले)का लालप्रसाद साँवा लिम्बु (एलपी) ९ हजार ७१० मतसहित अघि छन् ।मत गणनाको पछिल्लो परिणामअनुसार उनलाई देउकुमार थेवेले सातहजार ७७८ मतले पछ्याएका छन् ।

उनीहरूबीचको मतान्तर एकहजार ९३२ मतअन्तर रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले ६ हजार ९२४ मत पाउँदा स्वतन्त्र उमेदवार रहेकी मोडल खुश्वु ओली एक हजार २४९ मतसहित चौथो स्थानमा छिन् ।

मोरङ-५ ‘क’ मा कांग्रेसका गयानन्द मण्डल विजयी

मोरङ क्षेत्र नम्बर-५ ‘क’मा नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाई विजयी भएका छन् । मण्डल १४ हजार ८४३ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले नेकपा (एमाले)का सन्तोष कुमार साहलाई ५ हजार ४४१ मतले पराजित गरेका हुन् । एमालेका साहले ९ हजार ४०२ मत ल्याए ।

मण्डल निर्वाचित भएको औपचारिक घोषणा भने निर्वाचन अधिकृतको कार्यालय केही बेरमा पछि मात्रै गर्ने जनाएको छ । कांग्रेसका महासमिति सदस्य उनी २०७० सालको संविधानसभाको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का नेता शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए ।

खोटाङमा नेकपा (माओवादी केन्द्र)का रामकुमार राई (पासाङ)ले नेकपा (एमाले)का विशाल भट्टराईलाई ७८४ मतले पछि पारेका छन् ।

पछिल्लो मतपरिणामअनुसार माओवदी केन्द्रका पासाङ पाँच हजार ७५८ मतसहित अगाडि छन् । त्यस्तै, भट्टराईले चार हजार ९७४ मत प्राप्त गरेका छन् ।

सप्तरी–२ को मतगणना कार्य रोकिएको छ । ३९ हजार ८१९ मत गणना भइसकेपछि जनता समाजवादी पार्टी (जसपा)का नेता कार्यकर्ताहरूले मतपेटिकाको सिल नमिलेको भन्दै आपत्ति जनाएपछि मतगणना कार्य रोकिएको हो ।

जसपाका कार्यकर्ताले आफूहरूले टिपेको सिल नम्बर र यहाँ भएको सिल नम्बर नमिलेको दाबी गर्दै नाराबाजी गरेपछि गणनाकार्य रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसपाका नेता कार्यकर्तासहित लोसपाका नेता शम्भु यादव पनि धर्नामा बसेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पनि मत गणना कार्य रोकिएको र अहिले मिलाउने प्रयास भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *