भारी मतान्तरसहित देउवा निर्वाचित, सागर ढकालकाे भाेट कति ?

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरसहित निर्वाचित भएका छन् । डडेल्धुराबाट निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई करिब साढे १२ हजार मतान्तरसहित पराजित गर्दै देउवा निर्वाचित भएका हुन् ।

देउवाले २५ हजार ५३४ मत ल्याउँदा ढकालले १३ हजार ४२ मत प्राप्त गरे । नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए ।

काठमाडौं १० मा कांग्रेसका राजन केसीको ह्याट्रिक

काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी भएका छन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए ।

यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत पाएका छन् ।

रास्वपाका प्रदीप विष्टले ८ हजार ७३६ र माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत पाएका छन् ।

तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारी निर्वाचित

तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार चार सय ७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार एक सय ३० मत पाएका क्षेत्र नम्बर दुई निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताए ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच हजार तीन सय ७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले एक हजार चार सय २१ मत प्राप्त गरेका छन् ।

खसेको कुल मत ६८ हजार आठ सय १७ रहेको छ भने तीन हजार पाँच सय ८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भण्डारी सोही क्षेत्रबाट पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *