२७ वर्षीया सोविता गौतमले जितिन् काठमाडौं-२, काठमाडाैंमा घन्टीको सानदार जित !

काठमाडाैं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्। निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार घन्टी चुनाव चिह्न भएकी २७ वर्षीया गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतले हराउँदै विजयी भएकी हुन्।

गौतमले १५२२९ मत पाएकी छन्। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत प्राप्त गरेका छन्। उनीहरूको मतान्तर ३६७४ छ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा छिन्। उनले ११४१४ मत ल्याएकी छन्। गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा छिन्। उनले ९४४८ मत ल्याएकी छन्।

सोविता गौतमले त्रिभुवन विश्वविद्यालयको नेसनल ल कलेजबाट कानुन विषयमा स्नातक गरेकी छन्। उनले अधिवक्ताका रूपमा र पत्रकारिता क्षेत्रमा समेत काम गरेकी छन्। उनी २०५२ सालमा दोलखाको तामाकोशी गाउँपालिका जामुनेमा जन्मिएकी हुन्।

ललितपुर-३ मा तोसिमा कार्की विजयी

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन्। बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए। सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्। भुसाल अहिले ऊर्जा मन्त्री छन्।

समानुपातिक मतगणना:

स्वतन्त्र पार्टी र माओवादीबीच प्रतिस्पर्धा प्रतिनिधि सभाको समानुपातिक तर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ।

हालसम्मको मतगणनामा नेकपा एमालेले २८ दशमलव ६ प्रतिशत मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ प्रतिशत मत ल्याएको छ। जारी मतगणनामा एमालेले १ लाख ५६ हजार ८ सय ४५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १ लाख ३६ हजार ७ सय ६६ मत प्राप्त गरेको छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी मतगणनामा तेश्रो स्थानमा छ। उसले १२ दशमलव ८ प्रतिशत मत प्राप्त गरेको छ। रवि लामिछाने नेतृत्वको नयाँ दलले हालसम्ममा ६९ हजार ८ सय ८७ मत प्राप्त गरेको छ।

स्वतन्त्र पार्टी भन्दा केही कम मत माओवादी केन्द्रको छ। तर माओवादी केन्द्रले स्वतन्त्र पार्टीसँगको मतान्तर निरन्तर कम गरिरहेको छ। माओवादी केन्द्रले ६६ हजार ३८ मत प्राप्त गरेको छ। जुन १२ दशमलव १ प्रतिशत हुन आउँछ। माओवादीपछि राप्रपाले ३७ हजार १ सय ६७ मत ल्याएको छ।

यी बाहेक अन्य दलहरुले ३ प्रतिशत मत प्राप्त गर्न सकेका छैनन्। प्रतिनिधि सभाको समानुपातिक तर्फको ११० सिटको बाँडफाँडका लागि दलहरुले ३ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्छ।

जसपा नेपालले २ दशमलव २ प्रतिशत, जनमत पार्टीले २ दशमलव ३ प्रतिशत, नेमकिपा र एकीकृत समाजवादीले समान १ दशमलव ५ प्रतिशत र नागरिक उन्मुक्ति पार्टीले १ दशमलव ४ प्रतिशत मत प्राप्त गरेको छ। त्यस्तै अन्य दलहरुले प्राप्त गरेको मत ५ दशमलव ८ प्रतिशत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *