प्रतिनिधि सभामा माओवादीले सिन्धुलीबाट खाता खोल्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् ।

माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए ।

०६४ सालदेखि सो क्षेत्रबाट माओवादी केन्द्रका हरिबोल गजुरेल निर्वाचित हुँदै आएका थिए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३, राप्रपाका भिष्मराज श्रेष्ठले १३४० मत ल्याएका छन्।

सप्तरी २ मा मतगणना पुन: सुरु

सप्तरी–२ मा हिजो रोकिएको मतगणना पुनः सुरु भएको छ । मतपेटिकामा लगाइएको सिलको नम्बर नमिलेपछि जनता समाजवादी पार्टी र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले हिजो मध्यरातिदेखि मतगणना स्थगित गराएका थिए ।

मतपेटिकामा लगाइएको सीलको नम्बरमाथि छानविन गरेको थियो । छानविनमा निर्वाचन कार्यालयको प्रतिनिधि र दलका प्रतिनिधिले टिपोट गरेको नम्बर फरक फरक रहेको कारण त्यस्तो देखिएको थियो ।

सीलमा लगाइएको नम्बर निर्वाचन कार्यालयको प्रतिनिधिले सही टिपेका थिए तर दलका नेताहरुले नै मिस्टेक टिपेका थिए । दलका प्रतिनिधिले टिपेको नम्बरसँग सीलको नम्बर नमिलेपछि विवाद उत्पन्न भएको थियो ।

आज विहान सबै छानविन गरी त्यसमा सबै दलले सहमति जनाएपछि मतगणना सुरु भएको जसपा नेपाल सप्तरीले जनाएको छ । यहाँ जनमत पार्टीका सिके राउतले जसपाका उपेन्द्र यादवको तुलनामा दोब्बर बढी मत ल्याएका छन्।

समानुपातिकमा माओवादीले पनि कटायो एक लाख मत, कुन दलले कति पाए ?

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ नेकपा माओवादी केन्द्रले पनि एक लाख मत कटाएको छ । समानुपातिकतर्फ सबैभन्दा पहिला एक लाख कटाउने दल एमाले हो भने दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी र चौथोमा नेकपा माओवादी केन्द्रले एक लाख मत कटाएका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार समानुपातिकतर्फ एमालेले २ लाख ४१ हजार ५९४ मत पाउँदा नेपाली कांग्रेसले २ लाख १८ हजार ७०७, राष्ट्रिय स्वतन्त्र पार्टीले एक लाख ११ हजार ३९४ र नेकपा माओवादी केन्द्रले एक लाख ३६४ मत पाएको छ । राप्रपाले भने अहिलेसम्म ५७ हजार २३६ मत पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *