बागलुङ–२ बाट शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित

बागलुङ । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् ।

नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक सांसद चुनिएका हुन् ।

२०७४ सालमा २८ हजार ८ सय २७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ मत प्राप्त गरे । उनका प्रतिद्वन्दी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छिन् ।

पर्सा १ मा दोहोरिए प्रदीप यादव

पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पुनः निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीलाई पाराजित गर्दै उनी निर्वाचित भएका हुन् । पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवलाई नेकपा एमालेले समर्थन गरेको थियो ।

द्विवेदीले भन्दा उनले १ हजार ६ सय २० बढी मत ल्याएका छन् । यादवले २२ हजार ५ सय ३७ मत पाउँदा द्विवेदीले २० हजार ९ सय १७ मत पाए ।

तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५१ मत ल्याए भने सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी लोसपा का नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्रै पाए । २०७४ मा कर्ण पर्सा क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए ।

२०७४ को निर्वाचनमा यादवले २१ हजार १३२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अनिलकुमार रुंगटाले भने १६ हजार ४८१ मत मात्रै पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *