विश्वप्रकाशले तेस्रो प्रयासमा झापाको १ नम्बरमा हात पारे सफलता !

बिराटनगर। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो प्रयाशमा मतदाताको विश्वास जितेर प्रतिनिधिसभा सदस्यमा बिजय हासिल गरेका छन्।

उनले यसअघिका दुई निर्वाचनमा पराजय बेहोर्नु परेको थियो भने यसपटक एमालेका उम्मेदवार अग्नी खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेर सफलता हात पारेका छन्।

पूर्व महान्यायाधिवक्ता तथा कानून व्यवसायी खरेल एमालेका स्थायी कमिटी सदस्य हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने खरेल पहिलो पटक संसदीय राजनीतिक प्रतिष्पर्धामा उत्रिएका हुन्। उनलाई एमालेकै युवा कार्यकर्ताले पर्यटक उम्मेदवार भनेर असहयोग गरेका बुझिएको छ।

एमालेले लालकिल्ला दावी गर्दै आएको झापाको अरु क्षेत्र जस्तै क्षेत्र नं १ मा कांग्रेसले २३ वर्षपछि बिजय हासिल गरेको हो। २०५६ को मध्यावधि निर्वाचनमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जितेका थिए।

महामन्त्री शर्माले ३९६२४ मत पाउँदा खरेलले २५३४९ मत मात्रै पाए । शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।

रुपन्देही-४ बाट लोसपाका सर्वेन्द्रनाथ शुक्ला निर्वाचित 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले रुपन्देहीबाट प्रतिनिधि सभामा जितको शुरूआत गरेको छ। रुपन्देहीको दक्षिणी भेगमा पर्ने निर्वाचन क्षेत्र नम्बर ४ बाट लोसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन्।

उनी नेपाली कांग्रेसका उम्मेदवार प्रमोद यादवलाई पाँच हजारभन्दा बढी मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

शुक्लाले २८ हजार मत पाएका छन्। कांग्रेसका यादवले २२ हजार ७०४ मत पाए। त्यस्तै, जनमत पार्टीका उम्मेदवार भोपेन्द्र यादवले १५ हजार ५२६ मत ल्याए।

२०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका शुक्ला कांग्रेसका यादवसँग नै चुनाव हारेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *