डकुमेन्ट्री बनाउन प्रदेश सरकारले सहयोग गर्ने

हेटाैडा । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले पत्रकारलाई विभिन्न स्थानमा डकुमेन्ट्री बनाउन जाने खर्च दिने र उक्त डकुमेन्ट्री समेत सरकारले खरिद गरिदिने बताउनुभएको छ ।

आज पत्रकार महासङ्घ वाग्मती प्रदेशको आयोजनामा हेटौंडामा भएको अन्तरक्रियामा मन्त्री पाण्डेले भन्नुभयो, “म पक्षपात नगरिकन सबै सञ्चारमाध्यम र सञ्चारकर्मीको विकासका निम्ती कार्य गर्नेछु ।’’

उहाँले सञ्चार क्षेत्रले गर्ने आलोचनाले सरकारका कामलाई सुधार्ने मौका दिने भएकाले आफूले यसलाई सकारात्मक रूपमा लिने बताउनुभयो । उहाँले पक्ष वा प्रतिपक्षमा समाचार लेखेको आधारमा कुनै पनि विभेद नहुने समेत जनाउनुभयो । संचारकर्मीलाई लोककल्याणकारी विज्ञापन, लेखनवृत्ति, अध्ययन भ्रमणलगायतका क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता समेत रहेको उहाँको भनाइ छ । मन्त्री पाण्डेले सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिइ अन्य उद्योगले पाउने सुविधा उपभोग गर्ने व्यवस्था मिलाउने बताउनुभयो ।

मन्त्री पाण्डेले एक सय वाटका रेडियोलाई पनि प्रदेशमै समेट्ने र सुविधा उपलब्ध गराउन दायरा फराकिलो बनाउन चाहेको जानकारी दिनुभयो । उहाँले सबै खाले सञ्चारमाध्यमलाई समेट्ने बताउँदै अनलाइन पत्रकारितालाई सहयोग गर्ने कामलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । सरकारले ल्याएको प्रेसमा बाह्य काम नगर्ने गरी काम गर्ने बताउँदै उहाँले यसले सरकारी कागजातको गोपनीयता कायम हुने बताउनुभयो ।

महासङ्घका प्रदेश अध्यक्ष शिव देवकोटाले प्रदेश सरकारसँग सहकार्य गर्न तयार गरेको भन्दै लोककल्याणकारी विज्ञापन, सञ्चारग्राम स्थापना, सञ्चारमाध्यमको प्रवर्द्धन जस्ता काम प्रदेश सरकारबाट हुनुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *