गोकुल बाँस्कोटाकाे ‘कम्ब्याक’ कटाए १७ हजार मत, तेस्रो स्थानमा घण्टी

काठमाडाैं । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता लिएका छन्। उनले १७ हजार ३१ मत ल्याएका छन्।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले १६ हजार ७८८ मत ल्याएका छन्। बाँस्कोटा र हुमागाईंबीच २४३ मतान्तर रहेको छ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ५ हजार ६ सय २५ मतसहित तेस्रो स्थानमा छन्। काभ्रे-२ मा सुरआतीदेखि नै कांग्रेसका हुमागाईं र एमालेका बाँस्कोटाबीच कडा प्रतिस्पर्धा देखिएको छ।

महेश बस्नेत ७७७ मतले पछाडि

भक्तपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा ७ सय ७७ मतले प्रतिस्पर्धीभन्दा अगाडि छन्। पछिल्लो मतपरिणाम अनुसार उनले २३ हजार ५० मत पाएका छन्।

यता उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेत २२ हजार २७३ मत पाएका छन्। बस्नेत थापा भन्दा ७७७ मतले पछि परेका छन्।

विनोद चौधरीले कटाए १७ हजार मत, दोस्रोमा हृदयेश त्रिपाठी

नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन्। उनले १७ हजार १३६ मत पाएका छन्।

उनका प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले १२ हजार ६०० मत प्राप्त गरेका छन्। उनी दोस्रो स्थानमा छन्। उनीहरूबीच ४ हजार ५३६ मतको अन्तर छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्रसेन ठकुरी ११ हजार ६१५ मतसहित तेस्रो स्थानमा छन्। चौधरी पहिलोपटक प्रत्यक्ष तर्फ निर्वाचन लड्न नवलपरासी पश्चिम पुगेका हुन्। त्रिपाठीले विगतमा पाँच पटक निर्वाचन जितिसकेका छन्।

सिन्धुपाल्चोक-१ मा माओवादीबाट माधव सापकोटा विजयी

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका माधव सापकोटा सुबोध विजयी भएका छन्।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुबोधले एमालेका सरेश नेपाललाई ३३५६ मतले पछि पार्दै विजयी भएका हुन्।उनले ३० हजार ३७४ मत प्राप्त गरे। सरेशले भने २७ हजार १८ मत पाएका छन्।

जनयुद्धकालीन राजनीतिबाट हुर्केका ४१ वर्षीय उनी पहिलो पटक उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका थिए।

सभामुख अग्निप्रसाद सापकोटाले युवा पुस्तालाई मौका प्रदान गरेपछि पार्टीले उनलाई उम्मेदवार बनाएको थियो। माधव अग्निप्रसाद सापकोटाका भतिज हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *