नेमकिपाको गढ भक्तपुर १ मा प्रेम सुवाल केपी ओलीको भन्दा धेरै मतान्तरले विजयी

काठमाडाैं । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल भारी मतान्तरसहित विजयी भएका छन्। सुवालले फराकिलो जित दर्ता गराउने क्रममा नेकपा एमालेका नवराज गेलाललाई ३० हजार ८०० मतले पराजित गरेका हुन्।

त्यहाँ सुवालले ४२ हजार ७६१ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका गेलाल ११ हजार ९६८ मतमा समेटिएका छन्।त्यस्तै यहाँ नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५२ सय ८३ मत ल्याएका छन्।

यस्तै भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका छन्। त्यहाँ एमालेका युवा नेता महेश बस्नेत पराजित भए।

एमाले महासचिव शंकर पोखरेल पराजित

नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ मा पराजित भएका छन्। त्यहाँ उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा १९२ मतले पराजित गरेकी हुन्।

तर निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न बाँकी छ। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेल मतगणनाको सुरुदेखि नै पछि परेका थिए।

तर अन्तिममा मतान्तर घटाउँदै लगेका थिए। मतान्तर घटाए पनि उनले नतिजा आफ्नो पक्षमा पारेका थिएनन्।

लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङको देउखुरी लैजान सफल उनी त्यही एजेन्डालाई समेत चुनावी परिणाम आफ्नो पक्षमा पार्ने कोसिसमा थिए।

तर माओवादी नेतृ शर्माले उनलाई पराजित गरिन्। यससँगै दुई कम्युनिष्टका महासचिव पराजित भएका छन्। यसअघि लमजुङमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि पराजित भइसकेका छन्।

भोजपुरबाट मुख्यमन्त्री राई प्रदेश सभामा विजयी

भोजपुरबाट प्रदेशसभा सदस्यमा मुख्यमन्त्री राजेन्द्रकुमार राई निर्वाचित भएका छन्। प्रदेश १ का मुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका सचिवसमेत रहेका उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिबहादुर राईलाई ३८७७ मतले हराए।

भोजपुर १ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राईले १६ हजार ११० मत प्राप्त गरे। पराजित भएका एमालेका हरि राईले १२ हजार २२३ मात्र मात्रै ल्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *