ललितपुर- ३ बाट डा.तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो

काठमाडाैं । ललितपुर क्षेत्र नम्बर- ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की विजयी भएकी छन्। प्रतिस्पर्धी भन्दा १८ हजार भन्दा धेरै मतान्तरसहित उनी विजयी भएकी हुन्।

कार्कीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत भट्टराईलाई १८ हजार १७३ मतान्तरले पराजित गरेकी छन्। यो क्षेत्रमा नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो भएकी छन्।

केहीबेरअघि सार्वजनिक अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् भने एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाएका छन्। ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाएकी छन्।

तोसिमा कार्की विजयी भए पनि औपचारिक घोषणा गर्न भने बाँकी रहेको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए।

एमाले महासचिवलाई पराजित गर्दै दाङ-२ बाट माओवादी नेत्री शर्मा विजयी  

एमाले महासचिव शंकर पोखरेल पराजित भएका छन्। दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेखा शर्माले पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी हुन।

अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन्।

यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी छ। निर्वाचन अधिकृतले अन्तिममा जोड घटाउ गर्दा दुई चार मत तलमाथि हुनसक्ने सेतोपाटीलाई बताए।

एमालेका महासचिव पोखरेल लुम्बिनी प्रदेशका पहिलो मुख्यमन्त्री हुन्। २०७० को निर्वाचनमा दाङबाट हारेका उनले २०७४ को निर्वाचनमा एमाले-माओवादी गठबन्धनबाट प्रदेश सांसद जितेका थिए।

उनी २०६४ मा समानुपातिकबाट सांसद बनेका थिए। २०५१ मा पहिलो पटक सांसद बनेका पोखरेलले २०५६ मा भने निर्वाचन हारेका थिए।

उनी एक पटक सञ्चार मन्त्री भइसकेका छन्। पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रसमेत हुन्। एक वर्षअघि भएको एमालेको दसौं महाधिवशेनबाट ओलीले पोखरेललाई शक्तिशाली महासचिव बनाएका थिए।

२०६५ सालमा एमाले सचिव निर्वाचित पोखरेल २०७१ मा उपमहासचिवमा पराजित भएका थिए। पोखरेल एमालेभित्र बौद्धिक छवी बनाएका नेता हुन्। उनी जनताको बहुदलीय जनवादको व्यख्याताको रूपमा समेत एमाले नेता कार्यकर्तामा परिचित छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *