चितवन–२ मा रवि लामिछाने ३४ हजार बढी मतान्तरले निर्वाचित

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी अत्यधिक मतका साथ यहाँबाट निर्वाचित भएका छन्।

८४३१७ जनाले मतदान गरेको यो क्षेत्रबाट लामिछानेले ४९२६१ भोट प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५०९९ मत प्राप्त गरेका छन्। नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६४९ भोट पाए।

लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४१६२ भोट बढी पाएका छन्।

चितवन-२ मुख्यतः एमालेको प्रभाव क्षेत्र हो। यहाँबाट २०७० र २०७४ सालमा दुवैपटक कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए। यसपालिको स्थानीय निर्वाचनमा पनि एमालेकै मत धेरै थियो।

त्यसैले यहाँ एमालेका कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान थियो। तर रविको प्रवेशले यहाँको राजनीतिक नक्सा बदलिदियो।

परम्परागत रूपमा एमाले र कांग्रेसलाई मत दिँदै आएका मतदाताहरू नै रवितिर कित्ता सरेपछि उनी बलियो बनेका हुन्।

रविले लामो समय विभिन्न टेलिभिजनमा ‘सिधा कुरा जनता’ सँग भन्ने कार्यक्रम चलाए। त्यो कार्यक्रमबाट उनले अनियमितताविरूद्ध आवाज उठाएको, असहायहरूलाई सहयोग गरेको र सामाजिक काममा सक्रिय भएको भनेर धेरै मतदाताले रविको प्रशंसा गरेका थिए।

भक्तपुर १ मा १३ उम्मेदवारले पाएको मत भन्दा पनि धेरै मत पाएर विजयी भए प्रेम सुवाल

भक्तपुर १ मा नेमकिपाका प्रेम सुवालले सानदार जित हासिल गरेका छन् । नेमकिपाको गढ मानिने सो क्षेत्रमा सुवालले आफ्नो प्रतिस्पर्धी सबै १३ उम्मेदवारले पाएको भन्दा पनि धेरै मत पाएर विजय हासिल गरेका हुन् ।

सुवालले ४२ हजार ७६१ मत पाएर विजयी हासिल गर्दा सबै १३ उम्मेदवारले जम्मा २८ हजार ९४७ मत मात्रै पाए । १३ दल तथा स्वतन्त्र उम्मेदवारले भन्दा पनि सुवालले १३ हजार ८१४ मत बढी पाएको निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

मतगणनाको अन्तिम मतपरिणामअनुसार एमालेका उम्मेदवार नवराज गेलालले ११ हजार ९६८ मत पाए भने राप्रपाका भरतबहादुर खड्काले ९ हजार ३०३ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २८३ मत प्राप्त गरे ।

यसैगरी राप्रपा नेपालका माधव खत्रीले ७१७, मौलिक जरोकिलो पार्टीका बलराम प्रजापतिले ३३६, नेकपा मालेका दीपक लामिछानेले २७७, आमूल परिवर्तन पार्टीका डम्बर बहादुर थिङले २५०, जसपा नेपालका हिरालाल खड्काले २४६, नेपालका लागि नेपाली पार्टीका अर्जुन प्रसाद नपालले २४० मत पाउँदा स्वतन्त्र उम्मेदवारहरु गोकर्ण प्रसाद गेलालले १४०, अर्जुन कोजु ७८, पुष्पराम गेलाल ७५ र सुलोचना छ्वाजुले ३५ पाए ।

भक्तपुरमा सुवाल दोस्रो पटक विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा पनि सुवाल नै भारी मतका साथ विजयी भएका थिए ।

भक्तपुर–१ बाट २०४८ देखि २०७० सालसम्म विजुक्छेले ५ पटक चुनाव जिते । २०७४ सालमा विजुक्छेले पार्टीमा अरू नेतालाई अवसर दिने भन्दै विश्राम लिएपछि नेमकिपाकै सुवाल निर्वाचित भए । यो चुनावमा समेत उनै सुवाल नेमकिपाको उम्मेदवार बनेर विजयी भएका हुन् ।

भक्तपुर–१ निर्वाचन क्षेत्र अन्तर्गत भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका पर्छन् । भक्तपुर नगरपालिका नेमकिपाको गढ मानिन्छ । चाँगुनारायण नगरपालिकामा मिश्रित जनमत छ ।

गत वैशाख ३० गते भएको स्थानीय चुनावमा पनि भक्तपुर नगरपालिका प्रमुख र उपप्रमुखसहित १० वटै वडा नेमकिपाले जितेको थियो । कांग्रेस, एमाले र माओवादी लगायत पार्टीले यहाँ नेमकिपाभन्दा निकै कम मत पाएका थिए ।

यस क्षेत्रकै चाँगुनारायण नगरपालिकामा भने नेमकिपाले ९ नम्बर वडा अध्यक्ष मात्रै जितेको थियो । अरु वडामा भने कांग्रेस, एमाले, माओवादीभन्दा निकै कम मत पाएर नेमकिपा पराजित भएको थियो । भक्तपुरको जनमतकै कारण नेकपाले विगतका ६ चुनाव लगातार जित्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *