निर्वाचन परिणाम आउँदै गर्दा किन झापा आउन लागे पूर्व राजा?

बिराटनगर। पूर्व राजा ज्ञानेन्द्र शाह भोलि झापा जाने भएका छन्। उनी एक महिना दमकको निजी चिया बगान हिमालय चिया बगानस्थित दरबारमा रहने छन्। आमनिर्वाचनको मत परिणाम आउने क्रम जारी रहेकै बेला पूर्व राजाको झापा भ्रमण अर्थपूर्ण रहने बुझिएको छ।

पूर्व राजाले महिना दिन दमक बसाईमा विभिन्न व्यक्तिहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको निर्मल निवाससँग सम्बध्द एक उच्च सूत्रले बतायो।

आमनिर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको र राजसंस्थाको पुनर्वहालीको मुख्य मुद्दा उठाएर निर्वाचनमा भाग लिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले केही स्थानमा बिजय हासिल गरेको सन्दर्भमा पूर्व राजाको

झापा भ्रमण अर्थपूर्ण रहन सक्ने अर्को राजनीतिक सूत्रको भनाई छ। एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्ष र समानुपातिकमा आफ्नो प्रतिनिधित्व राम्रै बनाउन सक्ने विश्लेषण गरिएको छ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई पछि पारेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई पूर्व राजा शाहको शुभेच्छा रहेको बताईन्छ।

अन्तिम नतिजा नआउँदै कमल थापाले गरे हार स्वीकार

प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न (सूर्य) लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतगणना नसकिँदै हार स्वीकार गरेका छन्।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका थापाले मत गणना जारी रहेकै बेला बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो पराजय स्वीकार गरेका हुन्।

‘पराजयलाई सहर्ष स्वीकार गर्दछु। हामीलाई मत दिनुहुने सबैमा आभार’, थापाले लेखेका छन्, ‘सूर्य चिह्न लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा एमालेलाई धन्यवाद।’

उनले आफ्ना लागि चुनावी प्रचारमा खटिने एमालेका नेता/कार्यकर्ता तथा राप्रपा नेपालका सहकर्मीप्रति पनि आभार प्रकट गरेका छन्।

यस क्रममा उनले २०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा सशक्त सन्देश दिएको उल्लेख गर्दै भनेका छन्, ‘प्रजातान्त्रिक अभ्यासमा हार–जित स्वाभाविक हो। व्यक्ति हारे पनि देश, जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ।’

तर सनातन धर्म–संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको उनले उल्लेख गरेका छन्।

यसैबीच यो खबर लेख्दासम्म मकवानपुर–१ प्रतिनिधि सभा क्षेत्र नम्बर १ को मत गणना अन्तिम चरणमा पुगेको छ। जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपकबहादुर सिंहले २५ हजार १४८,

नेपाली कांग्रेसकी उम्मेदवार डिना संग्रौलाले २४ हजार २१२ र राप्रपा नेपालका उम्मेदवार कमल थापाले २३ हजार ६९४ मत पाएका छन्। अब दुईवटा वडाको मत गन्न मात्र बाँकी रहेको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *