भोट माग्न, र्‍याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउछु : रवि लामिछाने

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू जनतालाई जिताउने जाँच दिन गइरहेको बताएका छन् ।

चुनाव जितेपछि सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताएका छन् । ‘यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आजबाट जाँच दिन जाँदैछु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ,’ उनले भनेका छन् ।

लामिछानेले अहिले कुनै विजय र्‍याली नगर्ने भन्दै चितवन–३ का तीनवटा स्थानमा धन्यवाद र्‍याली गरिने जानकारी दिएका छन् । धन्यवाद र्‍यालीमा आफूलाई फूलमाला र अबीर केही पनि नल्याउन उनले मतदाताहरुलाई आग्रह गरेका छन् ।

उनले धन्यवाद सभा गरिने भरतपुर–१० गेस्टहाउस चोक, इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटार र कालिका नगरपालिकाको शहीद स्मृति क्याम्पस चौर पदमापुरमा समस्या र सुझाव गरी दुईवटा पेटिका समेत राखिने बताएका छन् ।

‘भ्रष्टाचारीका सूचना, मैले गर्नुपर्ने काम, मलाई खबरदारी लेखेर पठाउनुहोला,’ लामिछानेले लेखेका छन्, ‘माला, अबीर, खादामा हामीले गरेको खर्च प्रायः विदेश जान्छ । केही ल्याउनैपर्ने मन भए आफ्नै आँगन वा बाटोको एक थुंगा फूल भए मलाई पुग्छ ।’ उनले छिटोभन्दा छिटो आफू काममा लाग्न चाहेको समेत उल्लेख गरेका छन् ।

निवर्तमान सांसदद्वय श्रेष्ठ र मानन्धरको जोगिएन जमानत

निवर्तमान सांसदद्वय जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्र श्रेष्ठ र एमाले परितयाग गरेका रामवीर मानन्धर काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट पुनः प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए । तर, दुवैले जमानत जोगाउन सकेनन् ।

यस क्षेत्रको कुल सदर मत ३६ हजार ६१ रहेको छ । श्रेष्ठले कुल सदर मतको ६.८ प्रतिशत र मानन्धरले ३.४ प्रतिशत मत प्राप्त गरे ।

सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । कानुन अनुसार प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत रकम १० हजार जम्मा गर्नुपर्ने हुन्छ ।

०७४ को निर्वाचनमा यही क्षेत्रबाट मानन्धर विजयी भएका थिए । त्यसबेला उनले १८ हजार १०२ मत ल्याएर चुनाव जितेका थिए । यसपटक पनि एमालेबाटै टिकटमा दाबेदार थिए । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका मानन्धरले जम्मा एक हजार २१५ मत प्राप्त गरे ।

जसपाका उम्मेदवार श्रेष्ठ ०७४ मा भने समानुपातिक तर्फबाट सांसद बनेका थिए । यसपटक प्रत्यक्षमा लडेका उनले पनि जमानत जोगाउन सकेनन् । श्रेष्ठले दुई हजार ४६१ मत प्राप्त गरे ।

यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले २४.२ अर्थात ८ हजार ७४३ मत प्राप्त गरे ।

यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा ३१ जना उम्मेदवार थिए । निवर्तमान सांसदद्वय श्रेष्ठ र मानन्धरसँगै २८ जनाको जमानत जफत भएको छ ।

विजेता राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुली, उपविजेता एमालेका श्यामकुमार घिमिरे र माओवादी केन्द्रका मानुषी यमि भट्टराईले मात्रै जमानत जोगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *