यही व्यवस्थाभित्र रहेर अवस्था परिवर्तन गर्ने सङ्कल्प छ : अध्यक्ष लामिछाने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ ।

चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि उहाँले अहिलेको संविधान र व्यवस्थाभित्र रही जनताको अवस्था बदल्ने गरी काम गर्ने बताउनुभयो ।

“हाम्रो विजय देशमा परिवर्तन चाहने आम दाजुभाई तथा दिदीबहिनीको हो”, उहाँले भन्नुभयो । संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिम्मेवार दलका रुपमा अगाडि बढाउने उहाँको भनाइ छ ।

“मुलुक र नागरिकको हित के गर्दा हुन्छ भन्ने विषयमा जिम्मेवार भएर प्रस्तुत हुन्छौँ”, उहाँले भन्नुभयो, “अघिल्लो पुस्तासँग भएको निराशा र हामीसँग भएको आशा एवं अपेक्षामा खरो उत्रनेछौँ ।”

उहाँले अहिलेनै सरकारमा जाने वा नजाने भन्ने विषयमा टुङ्गो नलागेको बताउनुभयो । “पार्टीको बैठकबाट यसबारे निर्णय गर्छौ”, उहाँले भन्नुभयो, “एक सय दिनमा एक सय युवा स्वदेश फर्काउने चुनावी ऐजेण्डा कार्यान्वयनमा ल्याउने छौँ ।”

उहाँले जुन कुरा आम नागरिकको हितमा हुन्छ आफू त्यसको पक्षमा हुने बताउनुभयो । “मैले कहिँकतै बाटो बिराए भने खबरदारी गर्नुहोला, मलाई मतदान गरी विजयी गराउने सबैमा आभार व्यक्त गर्दछु”, उहाँले भन्नुभयो ।

चर्चामा डाक्टर तोसिमा कार्की

प्रतिनिधिसभा सदस्यमा नयाँ अनुहारमा ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा तोसिमा कार्की प्रवेश गर्नुभएको छ ।

उहाँले ३१ हजार एक सय ६ मतसहित विजय प्राप्त गर्नुभएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । प्रदेशसभासदस्य निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अमृत खड्काभन्दा १८ हजार एक सय ७३ भन्दा बढी मत प्राप्त गरी विजय हुनुभएको हो ।

खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गर्नुभएको छ । अर्का प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गर्नुभएको छ ।

घण्टी चिह्नमा चुनाव लड्नुभएका उहाँ पेसाले पाटन अस्पतालमा चिकित्सक (जनरल सर्जन) हुनुहुन्छ । पिता पदमबहादुर कार्की र माता दीपा कार्कीका छोरी डा तोसिमाको जन्म विसं २०४६ मा भएको हो ।

ललितपुर महानगरपालिका–१८ नख्खुखोला मार्ग निवासी डा तोसिमाले कक्षा दशसम्मको अध्ययन स्थानीय शहीद धर्मभक्त विद्यालयमा गर्नुभएको थियो । मोडर्न इन्डियन स्कुल, चोभारबाट कक्षा १२ तथा किष्ट मेडिकल कलेज, ललितपुरबाट एमविविएससम्मको अध्ययन पूरा गर्नुभएको हो ।

काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रिय सदस्य हुनुहुन्छ । सानैदेखि नेतृत्वदायी भूमिका रुचाउने उहाँले भूकम्पमा सिन्धुपाल्चोकको बतासे,

रामेछाप, नुवाकोटको साल्मे, ललितपुरको ठूलादुर्लुङ लगायतका स्थानमा स्वास्थ्य तथा राहत शिविरको नेतृत्व गर्नुभएकी तोसिमा सामाजिक न्यायका अभियान र भ्रष्टाचारविरुद्धका आन्दोलनमा समेत सक्रिय हुनुहुन्छ ।

निर्वाचनमा विजयी भएपछि उहाँले बोल्न नसक्नेको आवाज बन्ने, मौलिक हकअधिकार सुनिश्चितताको लागि लड्ने तथा शोषण, अन्याय, अत्याचार र हिंसाविरुद्ध सधैँ उभिने प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “चुनावका लागि सार्वजनिक गरेको घोषणापत्र अनुसार म स्वास्थ्य शिक्षा स्वरोजगारको सुनिश्चितताको आधार बन्ने छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *