अपेक्षा अनुसार नतिजा नआएपछि माधव कुमार नेपालले के भने ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा अपेक्षा गरेभन्दा फरक नतिजा आएको बताएका छन् ।

रौतहटको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनमा आफूले सोचेको भन्दा कमजोर नतिजा आएको र नतिजाले शिक्षा दिएको बताएका हुन् ।

उनले आगामी दिनमा निर्वाचनको परिणामको मूल्याङ्कन गर्दै भएका कमीकमजोरी सुधार गरी अघि बढ्ने धारणा व्यक्त गरेका छन् । अबको सरकार कसको बन्छ भनेर अहिले नै भन्न नसकिने भन्दै उनले समयको माग अनुसार सरकार बन्ने पनि बताए ।

जनताले आफूलाई इमान्दारीता र निष्ठापूर्वक नै हेरेकाले जनताको विश्वासलाई पूरा गर्ने अठोट उनले व्यक्त गरेका छन् ।

अध्यक्ष नेपाल ३३ हजार ५२२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत प्राप्त गरे ।

यसअघि २०४८ देखि २०५६ सम्म राष्ट्रियसभा सदस्य तथा प्रमुख विपक्षी दलका नेता रहेका अध्यक्ष नेपाल २०५६, २०६५, २०७० र २०७४ मा पनि प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

तनहुँबाट वरिष्ठ नेता पौडेल विजयी

तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ। वरिष्ठ नेता पौडेल पाँच हजार तीन सय ८८ मतान्तरले विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।

आज सम्पन्न अन्तिम मत परिणामअनुसार पौडेलले २५ हजार तीन सय १८ मत पाउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार नौ सय २५ मत पाउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार ३२, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गर्नुभएको

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्र नं १ मा एक लाख २३ हजार चार सय ९० मतदातामा ६६ हजार पाँच सय ८४ मत खसेको थियो । ६२ हजार पाँच सय ८४ मत सदर भएको छ भने चार हजार मत बदर भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *