विद्यार्थीको झोला बोक्ने ‘जोगीसर’ सांसदमा निर्वाचित, दुवै गठबन्धनलाई देखाइदिए पावर !

बिराटनगर । मोरङ-५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल ‘जोगीसर’ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

उनी दुवै गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। उनले २१ हजार ८२० मत पाए।

उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शिवकुमार मण्डलले १७ हजार ४८६ मत पाए। त्यस्तै, नेकपा (एमाले) को समर्थन रहेका जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार यादवले १७ हजार ३९० मत पाए।

माओवादी उम्मेदवार मण्डल यसअघि तीन वटा निर्वाचनमा लगातार निर्वाचित भएका थिए।

‘जोगीसर’ नामले चिनिने उनी शिक्षा, स्वास्थ्य लगायका मुद्दा बोकेर मतदाता समक्ष जाने गरेका थिए। उनले ‘ठूलो सपना देखाउँदिनँ, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारमा मेरो भूमिका छ र रहन्छ’ भन्दै मत माग्ने गरेका थिए।

२०५२ सालमा बीएस्सी गरेर विराटनगरबाट मोरङको अमाहि बरियातीमा गएर विद्यार्थीलाई निःशुल्क ट्युसन पढाएका थिए। उनी विद्यालय नजाने विद्यार्थीको झोला बोकेरै ट्यूसन पढाउन लग्ने गरेका थिए।

जसले गर्दा स्थानीय बासिन्दामाझ लोकप्रिय थिए। उनी आफ्नो नामले भन्दा पनि ‘जोगीसर’ उपनामले परिचित थिए।

२०५४ मा जीवन विकास समाज संस्था स्थापना गरेर गाउँमा सामाजिक क्रियाकलापमा संलग्न भएका उनलाई स्थानीयले ‘जोगीसर’ भनेर बोलाउने गरेका छन्।

उनको अगुवाई रहेको जीवन विकास पब्लिक स्कूलमा एक हजार दुई सय र बालविकास केन्द्रहरूमा ६ सय विद्यार्थी अध्ययनरत छन्। त्यस्तै, उनकै अगुवाईमा तीन सय शय्याको अस्पताल बन्दै छ।

‘जनताले लगाइदिएको सिन्दुर गर्विलो हुँदो रहेछ’

नेकपा माओवादी केन्द्रका ३६ वर्षीय केन्द्रीय सदस्य जीवन आचार्यको नाम अगाडि थपिने शब्द हो ‘प्रचण्डको ज्वाइँ’ । पार्टी भित्र आफ्नो पहिचान बनाउन संघर्ष गरिरहेका आचार्य आफ्नो पहिचान ज्वाइँ मात्रै नभएको बताउथें ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरा प्रकाशको निधनपछि आचार्यले उनको छोराको भूमिका पनि निर्वाह गरिरहेका छन् ।

बिहीबारबाट भने उनले आफ्नो परिचय फेरेका छन् । मोरङ क्षेत्र नम्बर-६ को १ बाट प्रदेशसभा सदस्यमा जनताले अनुमोदन गरेपछि नामको अगाडि बारम्बार जोडिने शब्द फेरेका हुन् । ‘जनताले लगाइ दिएको सिन्दुर गर्विलो हुदो रहेछ,’ जितपछि उनले भने, ‘जिम्मेवारी पनि थपिएको छ ।’

आचार्य माओवादी केन्द्रको मनोनित केन्द्रीय सदस्य हुन् । दोस्रो प्रयासमा सांसद चुनिएका उनी जनतासँगै बसेर काम गर्ने बताउँछन् । २०७४ सालको निर्वाचनमा उनी बाम गठबन्धनबाट उम्मेदवार बनेका थिए । तर कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग पराजित भए ।

तबदारले २३ हजार ५ सय १३ मत प्राप्त गर्दा आचार्यले २१ हजार ४७० मत पाएका थिए । यो पटक भने उनले एमाले उम्मेदवार रिता न्यौपानेलाई १ हजार ८ सय ८३ मतले पराजित गरे । आचार्य १९ हजार ४५५ मतसहित विजयी हुँदा न्यौपानेले १७ हजार ५७७ मत पाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *