उरुग्वे र दक्षिण कोरिया बराबरीमा रोकिए

काठमाडाैं । उरुग्वे र दक्षिण कोरियाले कतारमा जारी विश्वकप फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘एच’ अन्तर्गत एजुकेशन सिटी स्टेडियममा बिहीबार साँझ भएको खेलमा उरुग्वे र दक्षिण कोरिया गोलरहित बराबरीमा रोकिए ।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रो अवसर गुमाएका थिए । उरुग्वेको दुई वटा प्रहार पोस्टमा लागेर फर्किदा अङ्क बाँड्न बाध्य बन्यो ।

बराबरीसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । यस समूहको अर्को खेलमा आज राति नै पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुँदैछ ।

स्वीट्जरल्यान्डको विजयी सुरुवात

स्वीट्जरल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘जी’ अन्तर्गत अल जानोव स्टेडियममा बिहीबार भएको खेलमा स्वीट्जरल्यान्डले क्यामरुनलाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा स्वीट्जरल्यान्डलाई जिताउन ब्रील इम्बोलोले गोल गर्नुभयो । इम्बोलोले ४८औं मिनेटमा जार्हेदन साक्वीरीको पासमा गोल गर्नुभयो । यता बल पोसेसनमा अब्बल रहेको क्यामरुनले गोल फर्काउन सकेन ।

पहिलो जितसँगै स्वीट्जरल्यान्डले तीन अंक बनाएको छ । क्यामरुनले हारबाट खेलको सुरुवात गरेको छ । यही समूहमा रहेको ब्राजिल र सर्वियाको खेल आज (बिहीबार) राति १२:४५ बजे हुँदैछ ।

खेलसँगै विश्वको मन जितेको जापान

विश्वकपमा आफ्नो टोलीले जितेपछि समर्थकले के गर्लान् ? यस प्रश्नको सहज उत्तर तत्काल हुटिङ गर्ने, खेल जितेको खुशीयालीमा पार्टी र रमाइलो गर्ने । तर कतारमा जारी विश्वकपमा जापानका समर्थकले खेल जितेसँगै रङ्गशालाको प्यारापिटमा रहेका फोहोर सङ्कलन गरेका छन् ।

खालिमा अन्तर्राष्ट्रिय स्टेडियममा बुधबार साँझ भएको खेलमा जापानले चार पटकको विश्वकप उपाधि विजेता जर्मनीलाई २–१ गोलले हरायो । जापानले विश्वकपमा पहिलो पटक जर्मनीलाई हराउँदै विश्वकपमा सुखद सुरुवात गर्दा जापानी समर्थकले खुशीसँगै खालिफा रङ्गशालाको फोहोर सङ्कलन गरेर उदाहरणीय छाप छोडेका छन् ।

खेलमा जर्मनीलाई जितेको जापानका समर्थकले विश्वभरका फुटबलप्रेमीको मन जितेका छन् । खेल सकिएपछि जापानी समर्थकले आफूले गरेको फोहोरसँगै अन्य दर्शकले गरेको फोहेरसमेत सङ्कलन गरिरहेको दृश्यले अहिले विश्वको ध्यान खिचेको छ ।

समूह ‘ई’ मा रहेको जापानलाई जिताउन रित्सु डोन र ताकुमा असनोले गोल गर्नुभएको थियो । जर्मनीका लागि इल्के गुन्डोगानले पहिलो हाफमा गरेको गोल सान्त्वना गोलमा परिणत भएको थियो । उत्कृष्ट पुनरागमन गर्दै जर्मनीलाई हराएको जापान तीन अङ्क जोड्दै समूहको दोस्रो स्थानमा छ ।

शीर्षस्थानमा रहेको स्पेनको पनि समान तीन अङ्क छ । बुधबार राति नै भएको खेलमा स्पेनले कोस्टारिकालाई ७–० गोलले हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *