विश्वकपमा रोनाल्डोको कीर्तिमान

काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत बिहीबार समूह चरणको पहिलो खेलमा घानाविरुद्ध गोल गरेसँगै पोर्चुगलका कप्तान क्रिस्टियानो विश्वकपको पाँच संस्करणमा गोल गर्ने एकमात्र खेलाडी बनेका छन् ।

घानाविरुद्ध खेलको ६५ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरेसँगै ३७ वर्षीय रोनाल्डोले विश्वकपको पाँच फरक संस्करणमा गोल गर्ने एकमात्र खेलाडीको कीर्तिमान बनाए ।

रोनाल्डोले दोस्रो हाफमा पेनाल्टी गोल गर्दै घानाविरुद्ध पोर्गुललाई अग्रता दिलाएका छन् । सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका रोनाल्डोले त्यसयता हरेक विश्वकप खेल्दै गोल समेत गरेका छन् ।

उनले २००६, २०१० र २०१४ को विश्वकपमा १-१ गोल गरेका थिए भने २०१८ को विश्वकपमा ४ गोल गरेका थिए । विश्वकपमा रोनाल्डोको कूल गोलसंख्या ८ पुगेको छ ।

दक्षिण कोरियासँग बराबरीमा रोकियो उरुग्वे

फिफा विश्वकपअन्तर्गत समूह ‘एच’ को खेलमा बिहीबार दुईपटकको विश्वविजेता उरुग्वे दक्षिणी कोरियासँग गोलरहित बराबरीमा रोकिएको छ ।

कतारको एजुकेसन सिटी रंगशालामा सम्पन्न खेलका दौरान दुई प्रहार पोस्टमा लागेर फर्किनु नै उरुग्वेको बराबरीको प्रमुख कारण बन्यो । खेलमा दुवै टिमले गोलका केही मौका बनाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।

खेलको ३५औँ मिनेटमा मुन ह्वान किमले गरेको क्रसमा १८ यार्ड बक्सभित्र रहेका युई जो ह्वाङले गरेको प्रहार पोस्टको थोरै माथिबाट बाहिरिँदा दक्षिण कोरियाले अग्रताको सुनौलो मौका गुमायो ।

४४औँ मिनेटमा डियागो गोडिनको हेडर सेकेन्ड बारमा लागेर फर्किएपछि उरुग्वे अग्रता लिनबाट चुक्यो । ७८औँ मिनेटमा दक्षिण कोरियाका गुई सङ चोले बक्सबाहिरबाट गरेको प्रहार टार्गेटमा रहन सकेन ।

८२औँ मिनेटमा एडिन्सन काभानीले बनाएको अवसरमा डार्विन नुनेजको पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन ।

९०औँ मिनेटमा फेडेरिको भालभर्डेले १८ यार्ड बक्सबाहिरबाट गरेको प्रहार बारमा लागेर आउट जाँदा उरुग्वेले अग्रता लिन सकेन । त्यसको अर्को मिनेटमा दक्षिण कोरियाका सन ह्युङ मिनले गरेको प्रहार पोस्टको नजिकैबाट बाहिरियो ।

बराबरीसँगै दुवै टिमले एक-एक अंक बाडे । यो समूहमा उरुग्वे र दक्षिण कोरियासँगै पोर्चुगल र घाना छन् । समूहबाट शीर्ष दुई टिम अन्तिम १६ मा पुग्नेछन् ।

आजै हुने अर्को खेलमा राति ९:४५ बजे रंगशाला समूह ‘एच’ मा रहेको पोर्चुगलले घानाविरुद्ध खेल्दै छ। यो खेल रंगशाला ९४७ मा हुनेछ । यस्तै, दिनको अन्तिम खेलमा राति १२:४५ बजे समूह ‘जी’ को सर्बियाले ब्राजिलसामु चुनौती प्रस्तुत गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *