नवलपरासी पश्चिम–१ बाट कांग्रेसका विनोद चौधरी निर्वाचित

काठमाडौं । नवलपरासी पश्चिम–१ बाट नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित भएका छन् । बिहीबार राति आएको मत परिणाम अनुसार चौधरीले २९ हजार ४९५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत पाएका छन् ।

त्रिपाठीलाई नेकपा एमालेको साथ थियो । तेस्रो स्थानमा रहेका नेपाल स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत पाए ।

रौतहट-३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित 

नेकपा (एमाले) को टिकट बहिष्कार गरेर रौतहट-३ बाट स्वतन्त्र उम्मेदवार बनेका प्रभु साह फराकिलो मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

उनी प्रतिस्पर्धामा रहेका अर्का स्वतन्त्र उम्मेदवार ओम प्रकाशलाई सात हजार मतान्तरले पराजित गर्दै चौथो पटक निर्वाचित भएका हुन्। उनले ३२ हजार ४३७ मत पाए।

उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ओमप्रकाशले २५ हजार दुई सय मत पाए। त्यस्तै, नेकपा (माओवादी केन्द्र)का रविन्द्र पटेलले आठ हजार ५५८ र नागरिक उन्मुक्ति पार्टीका नागेन्द्र चौधरीले एक हजार ७३२ मत पाए।

जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको भन्दै एमालेको टिकट वहिष्कार गरे। उनले नेकपा विभाजन हुँदा एमाले रोजेका थिए। उनी यसअघि २०६४, २०७० र २०७४ सालमा माओवादीबाट निर्वाचित भएका थिए।

कैलाली-१ बाट उन्मुक्ति पार्टी अध्यक्ष श्रेष्ठ निर्वाचित 

कैलाली-१ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन्।

श्रेष्ठले ३० हजार ४०४ मत पाइन् भने चौधरीले १८ हजार ८१ मत पाए।  त्यस्तै, नेकपा (एमाले)का उम्मेदवार तपेन्द्रबहादुर रावल तेस्रो स्थानमा रहे। उनले पाँच हजार ९१० मत पाए।

एक लाख ६७ हजार ७०३ मतदाता रहेको निर्वाचन क्षेत्रमा ६४ हजार ९९९ मत खसेको थियो। जसमा तीन हजार २६८ मत बदर भएको छ।

कैलाली १ ‘क’ र ‘ख’ मा पनि उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्। कैलाली १ ‘क’ मा कैलाश चौधरी निर्वाचित भएका छन्। उनले १५ हजार १०१ मत पाए भने प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का दीर्घराज बिनाडीले १० हजार ३७७ मत पाए।

त्यस्तै, कैलाली १ ‘ख’ मा लक्ष्मणकिशोर चौधरी निर्वाचित भए। उनले ११ हजार ३१७ मत पाए भने कांग्रेसका रणबहादुर रावलले आठ हजार ५३ मत पाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *