के फेरि एमाले–माओवादी मिलेर सरकार बनाउँदैछन् ?

काठमाडौं । नेकपा विभाजनपछि पहिलोपटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफोनमा संवाद भएको घटनाले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ ।

दुई नेताबीच भएको टेलिफोन संवादको कुरा बाहिर नआए पनि एमाले अध्यक्ष ओलीले प्रचण्डलाई चुनाव जितेकोमा बधाई दिएको भनिएको छ ।

नेकपा विभाजनपछि पहिलोपटक भएको यस निर्वाचनले एमाले र माओवादी दुबैलाई अनपेक्षित परिणाम दिएको छ भने दुई कम्युनिष्ट पार्टी जुधाएर काँग्रेसले फाइदा लिएको छ ।

अध्यक्ष ओलीले देउवालाई पनि फोन गरेका थिए । तर, पानी बाराबारको अवस्थामा रहेका ओली र प्रचण्डको कुराकानीलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । एमालेले प्रत्यक्षमा ४० सीट कटाउने देखिएको छ भने माओवादीले १५ सिट कटाउने अवस्था छ ।

समानुपातिकतर्फको सीट थपिँदा र राप्रपालाई पनि मिलाउँदा एमाले र माओवादीको सरकार बन्ने सम्भावना पनि छ ।

सम्भावित समिकरण

यो चुनावी परिणामले कांग्रेस र एमाले दुबैलाई सरकार बनाउने बाटो खुलेको छ । तर, सरकार बनाउन चाहिने बहुमत (१३८) सांसदको समर्थन जुटाउन सहज छैन ।

सरकार गठनमा माओवादी केन्द्रसँगै रास्वपा र राप्रपाको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

विकल्प एक : सत्ता गठबन्धनकै निरन्तरता

सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्रेस अहिलेकै गठबन्धन कायम राखेर नयाँ सरकारको नेतृत्व गर्न चाहन्छ । कांग्रेसले कुल ८५ सिट (संभावित) जितेमा माओवादी (सम्भावित ३२), एकीकृत समाजवादी (सम्भावित १०), लोसपा (सम्भावित ४) र राष्ट्रिय जनमोर्चा १ सिट जोड्दा १३२ हुन्छ । स्वतन्त्र, जसपा र नागरिक उन्मुक्ति मिलाउन सक्ने हो भने मुस्किलले बहुमत पुग्न सक्छ ।

सत्ता गठबन्धनका दलहरुलाई सरकार गठनका लागि चाहिने बहुमत (१३८) पुर्‍याउन जति गाह्रो छ, शक्ति बाँडफाँट त्यति नै गाह्रो छ । किनकी प्रधानमन्त्रीमा कांग्रेस र माओवादी दुबैको दाबी छ । आलोपालो प्रधानमन्त्री हुने सहमति गर्ने विकल्प छ, तर कसले सरकारको नेतृत्व गर्ने भन्ने टुंग्याउन सहज छैन ।

माओवादी अध्यक्ष प्रचण्ड पहिलो कार्यकालमा प्रधानमन्त्री हुन चाहन्छन्, तर कांग्रेस त्यसमा तयार छैन । कांग्रेस नेताहरुका अनुसार पार्टी देउवा, राष्ट्रपति लिएर पहिलो कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिन तयार हुन पनि सक्छन् ।

यो निर्णय गर्न देउवालाई सहज भने छैन । किनकि महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेताको चुुनाव लड्ने र प्रधानमन्त्री बन्ने एजेण्डाका साथ चुनाव जितेका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले उनलाई समर्थन गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीको आकांक्षी हुन् ।

दोस्रो विकल्प : एमाले, माओवादी र राप्रपाको सरकार

प्रत्यक्षतर्फ १०० र समानुपातिकतर्फ ५० सिट जित्ने दाबी गर्दै आएको एमाले ८० सिट (संभावित) आसपास हुनसक्छ । उसको दाबीअनुसार यो नतिजा खराब हो, तर यसले गठबन्धन सरकार गठनको सम्भावनाको ढोका भने खोलेको छ ।

तर आफूले गठबन्धन बनाएर चुनाव लडेका दलहरु (राप्रपा र जसपा) सँग मिलेर सरकार बनाउने सम्भावना सकिएको छ । रवि लामिछाने नेतृत्वको दल रास्वपाको समर्थन जुटाउँदा पनि बहुमत पुग्ने अवस्था देखिँदैन । यही बुझेर होला, एमाले अध्यक्ष ओलीले बिहीबार प्रचण्डलाई फोन गरी शुभकामना मात्र दिएनन्, भेटेर सम्वाद गर्ने प्रस्ताव राखे । आफूहरुलाई टाढा पार्ने शक्तिहरु सक्रिय रहेको भन्दै प्रचण्डलाई फकाउने प्रयास पनि गरे ।

माओवादी केन्द्रमा वाम दलहरुको मोर्चा बनाउनुपर्ने मत पहिल्यै थियो, चुनावमा अपेक्षाअनुसार भोट ट्रान्सफर नभएपछि यो आवाज फेरि उठ्न थालेको छ ।

त्यसैले एमाले र माओवादी केन्द्र, सरकार गठनका लागि एक ठाउँमा आउन सक्छन् । तर एमाले, माओवादी, एकीकृत समाजवादी र जसपा एक ठाउँमा आउँदा पनि बहुमत पुग्दैन । वाम दलहरु एक ठाउँमा आउने र एमालेसँग चुनावी तालमेल गरेको राप्रपाको समर्थन जुटाउने हो भने बहुमत पुग्नसक्छ ।

माओवादी केन्द्रका एक नेताले आफूहरुको प्राथमिकता वर्तमान गठबन्धनलाई निरन्तरता दिने भएको, तर एमाले र राप्रपासँग मिलेर सरकार बनाउने सम्भावनालाई पनि पूर्ण रुपमा अस्वीकार गर्न नसक्ने बताए ।

तेस्रो विकल्प : कांग्रेस र एमालेको सरकार

जसरी कांग्रेस र एमालेलाई एक अर्कालाई प्रतिपक्षमा राखेर सरकार बनाउन गाह्रो छ, एकअर्का मिलेर सरकार बनाउन भने सहज छ । दुबै दल मिल्ने हो भने प्रष्ट बहुमत हुन्छ ।

झट्ट सुन्दा कांग्रेस र एमाले मिलेर सरकार बनाउन असम्भव जस्तो लागे पनि यस्तो अभ्यास विगतमा पनि भएको छ । २०६५ मा प्रचण्ड नेतृत्वको सरकार ढलेपछि कांग्रेसकै समर्थनमा एमालेको नेतृत्वमा सरकार बनेको थियो ।

२०७० को दोस्रो संविधानसभापछि पनि कांग्रेस र एमालेले मिलेर सरकार बनाएका थिए । ६०१ सदस्यीय संविधानसभामा पहिलो दल कांग्रेसले २०६ र दोस्रो ठूलो दल एमालेले १८४ सिट जितेको थियो । कांग्रेस र एमाले दुबैसँग ८३ सिटको माओवादी र अरु साना दललाई मिलाएर सरकार बनाउने विकल्प थियो ।

तर पहिलो र दोस्रो दल मिलेर सुशील कोइरालाको नेतृत्वमा सरकार बनाए । यो पटक पनि त्यो सम्भावनालाई नकार्न नमिल्ने नेताहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *