‘प्रचण्डकी बुहारी’ बीना मगर पराजित !

दोधारा चाँदनी । कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार तारालामा तामाङ विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार उनले पाँच हजार पाँच सय ४६ मतान्तरले माओवादी केन्द्रकी वीना मगरलाई पराजित गरेका हुन् ।

तामाङले २४ हजार आठ सय ९२ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी मगरले १९ हजार तीन सय ४६ मत प्राप्त गरिन् । विसं २०७४ को निर्वाचनमा मगरका सारथी बनेका तामाङले यसपटक मगरलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

तामाङ सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्रीसमेत हुन् । उनी गत भदौमा मात्रै नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए ।

त्यसैगरी नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले आठ हजार छ सय ५९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीवहादुर शाहीले तीन हजार पाँच सय ३० मत र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले एक हजार नौ सय छ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

एकानब्बे हजार एक सय १० मतदाता रहेको यो क्षेत्रमा ६३ हजार छ सय चार जनाले मतदान गरेका थिए । तीन हजार छ सय १४ मत बदर भएको निर्वाच अधिकृतको कार्यालयले जनाएको छ ।

धनुषा–३ मा एमाले नेतृ महतो निर्वाचित

धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका जुलीकुमारी महतो निर्वाचित भएकी छन् ।

उनले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित भएकी हुन् ।

निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गरेकी छन् भने लोसपा नेता झाले २३ हजार छ सय ८६ मत प्राप्त गरेका छन् ।

महतोले पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा जित हासिल गरेकी हुन् हो । दुईपटक समानुपातिक सांसद हुँदै मन्त्रीसमेत बनेकी थिइन् । यससँगै धनुषाको चारमध्ये दुई सिटको मत परिणाम आउँदा एक कांग्रेस र एक एमालेको भागमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *