पाल्पा क्षेत्र नम्बर–२ बाट ठाकुर गैरे विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ पाल्पा क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले)का उमेदवार ठाकुर गैरे विजयी भएका छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनी ‘डेब्यु’ प्रतिस्पर्धामै सफल भए ।

गैरेले निवर्तमान सांसद समेत रहेका नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेलाई पराजित गरे । उनीहरूको जितहारको अन्तिम मतपरिणाम भने घोषणा हुन बाँकी छ । अब केही बेरमा घोषणा हुने जनाइएको छ ।

०५१ सालदेखि सोही क्षेत्रबाट निरन्तर उमेदवार बनेका पाण्डेको यो दोस्रो पराजय हो । निर्वाचित गैरे र पराजित पाण्डे पूर्वसहकर्मी पनि हुन् ।

एमालेको समानुपातिक मत १० लाख कट्यो

प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १० लाखभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले ९ लाख ७० हजार ८७७ मत पाएको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको छ । रास्वपाले ४ लाख ८४ हजार ८८६ मत पाएको छ ।

नेकपा माओवादी केन्द्रले ४ लाख ४६ हजार ५९४ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार १२० मत ल्याएको छ ।

जनता समाजवादी पार्टीले १ लाख २९ हजार १५७ मत ल्याउँदा जनमत पार्टीले ७७ हजार २५९ र नेकपा एकीकृत समाजवादी पार्टीले ७१ हजार ६६७ मत पाएको छ ।

धनुषा–३ मा एमाले नेतृ महतो निर्वाचित

धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका जुलीकुमारी महतो निर्वाचित भएकी छन् ।

उनले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित भएकी हुन् ।

निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गरेकी छन् भने लोसपा नेता झाले २३ हजार छ सय ८६ मत प्राप्त गरेका छन् ।

महतोले पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा जित हासिल गरेकी हुन् हो । दुईपटक समानुपातिक सांसद हुँदै मन्त्रीसमेत बनेकी थिइन् । यससँगै धनुषाको चारमध्ये दुई सिटको मत परिणाम आउँदा एक कांग्रेस र एक एमालेको भागमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *