एमालेको समानुपातिक मत १० लाख कट्यो, घण्टीमा कति ?

काठमाडौं । प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १० लाखभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले ९ लाख ७० हजार ८७७ मत पाएको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको छ । रास्वपाले ४ लाख ८४ हजार ८८६ मत पाएको छ ।

नेकपा माओवादी केन्द्रले ४ लाख ४६ हजार ५९४ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार १२० मत ल्याएको छ ।

जनता समाजवादी पार्टीले १ लाख २९ हजार १५७ मत ल्याउँदा जनमत पार्टीले ७७ हजार २५९ र नेकपा एकीकृत समाजवादी पार्टीले ७१ हजार ६६७ मत पाएको छ ।

रवि लामिछानेले भने- मेरा लागि फूलमाला, अबीर, खादा केही पनि नल्याउनुहोला

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विजय र्‍याली नगर्ने भएका छन्।

उनी चितवन-२ बाट अत्यधिक मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले ४९ हजार २६४ मत पाए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत पाए।

निर्वाचित भएपछि सामाजिक सञ्जाल मार्फत आफ्नो भनाइ राख्दै लामिछानेले विजय र्‍यालीको सट्टा धन्यवाद सभा आयोजना गर्ने जनाएका छन्। “राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो,” लामिछानेले भनेका छन्, “म आजबाट जाँच दिन जाँदै छु, जसको नतीजा पाँच वर्षपछि मात्र आउँछ। म जनतालाई जिताउने जाँच दिन जाँदै छु, त्यसैले म अहिले नै विजय र्‍याली गर्न चाहन्नँ।”

उनले विजय र्‍यालीको सट्टा आफ्नो क्षेत्रका विभिन्न स्थानमा धन्यवाद सभा आयोजना गर्ने भएका छन्। त्यहाँ पनि आफ्ना लागि फूल नल्याउन आग्रह गरेका छन्। “धन्यवाद सभा गर्दै छु। एउटा अनुरोध, कृपया त्यहाँ आउँदा मेरा लागि फूल, माला, अबीर, खादा केही पनि नल्याउनुहोला।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *