रुपन्देही-२ बाट एमालेका विष्णु पौडेल निर्वाचित

रुपन्देही । रुपन्देही-२ बाट नेकपा एमालेका उम्‍मेदवार विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी उम्‍मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।

विष्णु पौडेलले २७ हजार १४८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याए । यसैगरी सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले २२ हजार १० मत र स्वतन्त्र उम्‍मेदवार १ हजार २९ मत ल्याए । रुपन्देही-२ मा कूल ८१ हजार २०२ मत खसेको थियो ।

सुजाता कोइरालालाई हराउँदै मोरङ-२ बाट ऋषिकेश पोखरेल विजयी

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।

पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । यो पटक नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातालाई उनले पराजित गरे । पोखरेल ३३ हजार १४८ मत ल्याएर विजयी हुँदा कोइरालाले ३१ हजार ९४० मत पाइन् ।

गिरिजाप्रसाद कोइराला सोही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित भएका थिए । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पोखरेल २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए ।

दोस्रो संविधानसभा निर्वाचनमा उनले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरे । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेस उम्मेदवार डा. मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।

खगराज अधिकारी : दलको नेता पक्का, मुख्यमन्त्री भन्न सकिन्न

गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने उद्देश्यसहित प्रदेशसभामा झरेका थिए एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी । कास्की–१(१) बाट १५ हजार ६२३ मत ल्याएर जितेका खगराजले नेकपा माओवादी केन्द्रका दीपक कोइरालालाई ३ हजार भन्दा बढी मतान्तरले पराजित गरे ।

एकातर्फ एमालेले खगराजलाई भावी मुख्यमन्त्रीका रुपमा प्रचार गरेको थियो, अर्कोतर्फ कास्कीमा सत्तारुढ गठबन्धनमा अनेक विवाद थिए । हारपछि माओवादी उम्मेदवार कोइरालाले अधिकारीलाई बधाई दिएका छन् । ‘खगराज दाइको राजनीतिक प्रभाव अझै बढोस्, शुभकामना छ’ उनले भनेका छन् ।

कास्की–१ मा यसपटक प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जितेको छ । खगराज प्रदेश सभा झर्दा यसअघि प्रदेश सभा सांसद रहेका मनबहादुर गुरुङले संघको टिकट हात पारे र कांग्रेसका किशोरदत्त बराललाई हराए । प्रदेश सभा २ मा कांग्रेसका दीपक गुरुङलाई हराउँदै एमालेकै वेदबहादुर गुरुङले चुनाव जिते ।

गण्डकीमा सम्भावित मुख्यमन्त्रीका रुपमा हेरिएका खगराज संसदीय दलको नेता बन्ने सम्भावना देखिएको छ । प्रत्यक्षमा चुनाव जितेका र समानुपातिकबाट आउने सम्भावित उम्मेदवारलाई पनि हेर्दा सबैभन्दा शीर्ष नेता खगराज नै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *