समानुपातिकमा कांग्रेसले पनि कटायो २० लाख मत, अरू कसले कति पाए?

काठमाडाैं । प्रतिनिधि सभातर्फको जारी मतगणनामा शनिबार साँझसम्म समानुपातिकतर्फ ७५ लाखभन्दा बढी सदर मतको गणना भएको छ।

अहिलेसम्म सदर भएको ७५ लाख ७३ हजार ४ सय ४४ मतमध्ये नेकपा एमाले र नेपाली कांग्रेस मात्रै ४० लाखभन्दा बढी मत पाएका छन्। एमालेले २०७८३९७ अर्थात् २७.४४ प्रतिशत मत पाएको छ भने कांग्रेसले २००५१४१ अर्थात् २६.४७ प्रतिशत मत पाएको छ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) ले ८ लाख ८९ हजार ७५५ अर्थात् ११.७४ प्रतिशत मत ल्याएको छ। चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ५४ हजार ९४ अर्थात् ११.२७ प्रतिशत मत पाएको छ।

पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४लाख ५६ हजार ८२६ अर्थात् ६.३१ प्रतिशत मत ल्याएको छ। छैठौं स्थानमा रहेको जनता समाजवादी पार्टीले २ लाख ४६ हजार ६२७ अर्थात् ३.२५ प्रतिशत मत पाएको छ।

नेकपा (एकीकृत समाजवादी) ले भने राष्ट्रिय पार्टी बन्न चाहिने तीन प्रतिशतको थ्रेस होल्ड अहिलेसम्म कटाउन सकेको छैन। अहिलेसम्म उसले १ लाख ८९ हजार ८९६ अर्थात् २.५० प्रतिशत मत मात्र पाएको छ।

राप्रपा: प्रत्यक्षमा जित्यो सात सिट

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ सात वटा निर्वाचनमा क्षेत्रमा जित हात पारेको छ। झापा-३ बाट अध्यक्ष राजेन्द्र लिङ्देन, मकवानपुर १ बाट दीपक सिंह, चितवन-३ बाट विक्रम पाण्डे, नवलपरासी पश्चिम २ बाट ध्रुवबहादुर प्रधान विजयी भएका छन्।

यस्तै, रूपन्देही ३ बाट दीपक बोहोरा, बाँके २ बाट धवलशमशेर राणा विजयी भएका छन् भने जुम्लाबाट ज्ञानबहादुर शाही विजयी भएका छन्।

२०७४ सालको प्रतिनिधि सभामा राप्रपाबाट राजेन्द्र लिङ्देन मात्र सांसद थिए भने समानुपातिकमा पनि उसले तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेको थिएन।

राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग गरिरहेको राप्रपाले यसपालि भने प्रत्यक्ष र समानुपातिक दुबैतर्फ निकै नै मत बढाएको छ। समानुपातिकमा अहिलेसम्म ४ लाख ४८ हजार ७ सय ९७ मतसहित राप्रपा पाँचौं स्थानमा छ।

प्रधानमन्त्री देउवा-प्रचण्डबीच भेट

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरूबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्यका रूपमा हेरिएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *