प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, राजनीतिमा नयाँ तरङ्गकाे संकेत

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

राजदूत श्रीवास्तवले आज शनिबार प्रचण्ड निवास खुमलटारमै पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् । प्रचण्ड र श्रीवास्तवबीच समसमायिक विषयमा छलफल भएको बताइएको छ । तर, निर्वाचनको परिणाम आइरहेको अवस्थामा राजदूत श्रीवास्तवको यो सक्रियतालाई नेपाली राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

राजदूत श्रीवास्तवले यसअघि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेका थिए । श्रीवास्तवसँगको गोप्य वार्तालगत्तै प्रधानमन्त्री देउवाले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए ।

दुई दिनयता भारतीय राजदूत श्रीवास्तवले नेपाली राजनीतिक वृत्तमा बढाएको सक्रियताले आगामी सरकार गठनमा भारतले हस्तक्षेप गर्ने आँकलन गर्न थालिएको छ ।

कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा एमाले शून्य

कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा नेकपा (एमाले)को सहभागिता शून्य भएको छ । यहाँका १० जिल्लाका प्रतिनिधिसभातर्फका १२ निर्वाचन क्षेत्रबाट एमालेको प्रतिनिधित्व शून्य भएको हो । एमाले ०७४ को निर्वाचनमा प्रतिनिधिसभाका ६ क्षेत्रमा विजयी हुँदै कर्णालीमा ठूलो पार्टी बनेको थियो ।

योपटक कर्णालीबाट प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका चार, माओवादी केन्द्रका चार, नेकपा (एकीकृत समाजवादी)का तीन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक उमेदवार निर्वाचित भए ।

कांग्रेसका सुर्खेत क्षेत्र नम्बर–१ बाट पूर्णबहादुर खड्का, सुर्खेत–२ बाट हृदयराम थानी, दैलेख–२ बाट दिक्पालकुमार शाही र मुगुबाट ऐनबहादुर शाही निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रका रुकुम पश्चिमबाट जनार्दन शर्मा, जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीकोटबाट महेन्द्रबहादुर शाही र हुम्लाबाट छिरिङ डम्दुल लामा निर्वाचित भए ।

एकीकृत समाजवादीका सल्यानबाट प्रकाश ज्वाला, दैलेख–१ बाट अम्मरबहादुर थापा र डोल्पाबाट धनबहादुर बुढा विजयी भए । राप्रपाका जुम्लाबाट ज्ञानेन्द्रबहादुर शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *