अब गठबन्धन गर्छौं: रवि लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले अब आवश्यक परेको अवस्थामा आफ्नो पार्टी तालमेल वा गठबन्धन गरेर जान सक्ने बताएका छन्।

शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र बुझ्दै लामिछानेले चुनावको बेला कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा पार्टीले गठबन्धन गर्नसक्ने बताएका हुन्।

‘चुनावको बेला हाम्रो दलले कसैसँग तालमेल वा गठबन्धन गरेन तर भोलि देश हितका लागि आवश्यक पर्‍यो भने हामी साथ दिन्छौं,’ उनले भने।

लामिछानेले आफूलाई जिताएको भन्दै चितवनवासीलाई धन्यवाद दिँदै जनताको विश्वासलाई शिरमा राखेर काम गर्ने जनाए।

समानुपातिकमा एमालेले कटायो २० लाख मत, आठ लाख ७५ हजार मतसहित माओवादी तेस्रो

प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले २० लाख बढी मत प्राप्त गरेको छ । अपराह्न ४ः१० सम्ममा एमालेले २० लाख ३८ हजार ९५७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले १९ लाख ६९ हजार २६७ मत प्राप्त गरेको छ । यी दुई दलले प्राप्त गरेको समानुपातिकतर्फको मतको अन्तर ६९ हजार ६९० छ ।

तेस्रोमा नेकपा (माओवादी केन्द्र) छ । माओवादीले आठ लाख ७५ हजार ८५१ मत पाएको छ । उसलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी आठ लाख ४५ हजार ६३१ मतसहित चौथो स्थानमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चार लाख ५९ हजार २१२ मत, जनता समाजावादी पार्टी नेपालले दुई लाख ४१ हजार ७५५ मत प्राप्त गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले एक लाख ८८ हजार ११, नागरिक उन्मुक्ति पार्टीले १ लाख ७५ हजार ५०३, जनमत पार्टीले एक लाख ७० हजार २१३ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख १ हजार ७७९ मत प्राप्त गरेको छ । अन्य दलहरुले भने ६५ हजारभन्दा कम मत पाएका छन् ।

मन्त्रीहरू नै भारतसँग मल किनेर कमिसन खान्छन्

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानुन निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताएका छन् ।

शनिबार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरूलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो दबाब स्वदेशमै राेजगारी सिर्जना गर्ने कानुन निर्माणमा रहने बताएका हुन् ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका उनले देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानुन निर्माणमा आफू हरक्षण माग गरिरहने बताए ।

उनले देशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि विशेष माग र जोड दिने बताए । सरकारका मन्त्रीहरूले नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको उनकाे आरोप छ । उनले देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानुन बनाउन आवाज उठाउने पनि बताए ।

नेमकिपा नेता सुवालले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (एमाले)का उमेदवार नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । सुवालले ४२ हजार ७१६ मत ल्याएका थिए भने प्रतिस्पर्धी गेलालले ११ हजार ९६८ मत मात्रै ल्याएका थिए ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’मा नेपाल मजदुर किसान पार्टीकै सुरेन्द्रराज गेसाई विजयी भएका छन् । १ को ‘क’बाट भने नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *