अन्न जोगाउन प्रकृतिको पूजा गर्ने मगर समुदायकाे ‘भूमे पर्व’

मगर समुदायको सांस्कृतिक पर्व भूमे १८ मगरातअन्तर्गत रोल्पा, रुकुम, सल्यान, दैलेख, जाजरकोट आदि जिल्लामा र दाङ लगायत राप्ती अञ्चलका सबै जिल्लामा धूमधामसँग मनाइन्छ। भूमे पूजालाई कसै कसैले (विशेष गरेर नेपाली भाषीहरूले) बलपूजा भनेर पनि भन्ने गर्दछन, तर अधिकांश खाम क्षेत्रमा यसलाई भूमे नै भनेर चिनिन्छ |

भूमे भन्ने शब्द भूमी अर्थात् जमीनबाट अपभ्रम्सित भएर आएको हो | खाम क्षेत्रका मगरहरू कुनै देवी देउताको भन्दा बढी आफ्ना पुर्खा र प्रकृतिको बढी पूजा गर्दछन | भूमी बराहा, सिद्ध बराहा आदिको पूजा गर्नु यसका उदाहरणहरू हुन्|

हरेक वर्ष वर्षा ऋतु लाग्नु भन्दा पहिले बालीनाली लगाएपछि मनाइने यो पर्वमा प्रकृतिको पूजा गरिन्छ, साथै वर्षभरिको कामको थकान मेटाउने काम पनि हुन्छ। बाढी पहिरो, हुरी बतास जस्ता प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीको कामना गर्दै भूमी माताको असार मसान्तमा पूजा गरी करिब हप्ता दिनसम्म नाँचेर धुमधामसँग मनाउँदछन् र त्यसबेला हरेक गाउँमा एउटा सानोतिनो मेला नै लाग्दछ त्यसकारण यस भूमे पर्वलाई कसै कसैले भूमे मेला भनेर पनि भन्दछन् |

अन्न जोगाउन प्रकृतिको पूजा :खेतीपाती सकेपछि यो पूजा प्रारम्भ हुन्छ,’ मगर सङ्घ सँग सम्बद्द कीर्तिमान पुन का अनुसार ‘खेतीपाती गर्दा केही कीरा-फट्यांग्रा पनि मरेका हुन सक्छन्। त्यसबाट भएको क्षतिका लागि क्षमा माग्दै खेतीपाती राम्रो होस् भन्ने कामना हुन्छ।’ बालीनालीमा कीरा नलागोस्, बाढी-पहिरोले नोक्सान नगरोस् भनेर भूमि, वन-जंगल, सूर्य, चन्द्रको पूजा गर्ने चलन छ।

असार १ गते सुरु हुने भूमे महोत्सव विगतमा रुकुम, रोल्पा आदि पहाडी जिल्लामा एक महिनासम्म मनाउने चलन थियो, तर अहिले बिस्तारै मनाउने दिन घट्दै गएको छ। आजभोलि यो चाड तीनदेखि सात दिनसम्म मनाइन्छ। पूर्खादेखि मनाइँदै आएको यो पर्वलाई मगर समुदायले सहायक पर्व मान्छ।

मगर सङ्घ सँग सम्बद्द मनबहादुर पुन का अनुसार ‘मुख्य पर्व माघेसंक्रान्ति हो, त्यसपछिको पर्व भूमे नै हो। पूर्खाले जंगल खोस्रेर खेतीपाती गर्न थालेदेखि नै यो पर्व मनाउन थालिएको हो। भूमे पर्वमा मगर समुदायका सबै मानिस तालमा ताल मिलाएर नाच्छन्। वर्षभरि अन्य पहिरन लगाउनेहरूले पनि यो पर्वमा मगर समुदायको पहिचान दिने पटुकी, फेटा लगाउँछन्।

मगर युवायुवतीदेखि वृद्धव द्धाहरूसम्म एउटै थलोमा लहरै उभिएर एकनासले नाच्छन्। नाच्दानाच्दै दोहोरी सुरु हुन्छ मगर खाम भाषामै। कसैले गत वर्ष भेटेको दिन सम्झना गर्छन्, कसैले वर्षभरि भोगेका दुःखसुखका कुरा निकाल्छन् त कसैले प्रकृति र अन्न-पानीका।पहाडी जिल्लाहरूमा महिलाले दुई दिन लगाएर जलजलाको बुकी फूल टिपेर पुरुषलाई सिउरिदिने चलन छ। पुरुषले पनि वन प्याज लिएर चौरमा छिल्ने र त्यही नाचगान गर्ने चलन छ।

मगर खाम भाषामा वन प्याजलाई ‘नो’ भन्ने चलन छ। त्यसैले यसलाई खाम भाषामा ‘नोको बाङे नाच’ पनि भनिन्छ। नाचका क्रममा २२ ताल मिलाउनुपर्ने नियम हुन्छ, जसमा हात, खुट्टा र कम्मरले ताल मिलाउनुपर्छ। नाचसँगै गाइने दोहोरीमा वर्षभरका दुःखसुखका कुरा आउने गरेको जानकारहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published.