सरकारी सेवामा थारू समुदायलाई ६.६ प्रतिशत आरक्षण छुट्याउन दिएको अन्तरिम आदेश खारेज

काठमाडाैं । सर्वोच्च अदालतले सरकारी सेवामा पदपूर्ति गर्दा ६.६ प्रतिशत थारू समुदायका लागि छुट्याउन भन्दै दिएको अन्तरिम आदेश खारेज गरेको छ।

थारू कल्याणकारिणी सभाले दिएको रिटमा यसअघि सर्वोच्च अदालतले थारू समुदायका लागि ६.६ छुट्याएर अरू पदमा पदपूर्ति गर्न भनेको थियो।

सर्वोच्च अदालतको आदेशविरूद्ध प्रधानमन्त्री कार्यालयले निवेदन दिएको थियो। उक्त निवेदनमाथि सुनुवाइ गर्दै आइतबार सर्वोच्च अदालतले पहिलेको अन्तरिम आदेश खारेज गरेको हो। सार्वजनिक सेवा प्रवाहमा नै गम्भीर असर पर्न सक्ने भन्दै यसअघिको अन्तरिम आदेश रद्द गरेको सर्वोच्चको आदेशमा उल्लेख छ।

अदालतको आदेशमा भनिएको छ, ‘थारू समुदायसँग सम्बन्धित कानुनी व्यवस्था तथा नेपालको संविधानको धारा ४२ को संवैधानिक प्रावधानको व्याख्या र निरूपणसमेत रिट निवेदनको अन्तिम सुनुवाइ हुँदाको अवस्थामा मात्र विचार गर्न उपयुक्त हुने देखिँदा उल्लिखित विज्ञापन बमोजिमको

पदपूर्ति नगर्नू भनी यस अदालतबाट जारी भएको अन्तरिम आदेशबाट मुलुकको सार्वजनिक सेवा प्रवाहमा नै गम्भीर असर पर्न सक्ने संवेदनशील अवस्था र परिस्थितिलाई विचार गर्दा यस अदालतबाट कात्तिक २० मा जारी भएको अन्तरिम आदेशलाई रद्द गरिदिएको छ।’

तेस्रो पटक संसद प्रवेश गर्दै रघुवीर महासेठ

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यमा धनुषा–४ मा विजयी भएपछि तेस्रो पटक संसदीय यात्रा तय गरेका छन् ।

निर्वाचन आयोगका अनुसार महासेठले ३२ हजार दुई ३६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत प्राप्त गरे ।

महासेठ २०६५ सालमा संविधानसभा सदस्य उपनिर्वाचनमा धनुषा ५ बाट निर्वाचित भएका थिए । उनले संविधानसभा र तत्कालीन व्यवस्थापिकामा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए । महासेठ २०७४ सालमा संघीय संसद प्रतिनिधिसभा सदस्यमा धनुषा–४ बाट विजयी भएका थिए ।

जनकपुर उपमहानगरपालिका २, धनुषामा बाबु मखन र स्व.मायावती महासेठको कोखबाट २०१८ साल साउन २२ गते जन्मिएका महासेठ हाल नख्खु, ललितपुरमा बस्छन् । उनकी पत्नी जुलीकुमारी महतो र एक छोरा, एक छोरी छन् । उनले बि.ई (सिभिल इन्जिनीयरिङ) अध्ययन गरेका छन् ।

एमाले निकट विद्यार्थी संडठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिययन (अनरास्ववियु) मा २०२८/०२९ सालबाट औपचारिकरुपमा महासेठ राजनीतिमा प्रवेश गरेका थिए । उनी २०३७ सालमा अनेरास्ववियुको प्रथम पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष निर्वाचित भएका थिए ।

वि.सं २०३३ सालमा तत्कालीन नेकपा (माले)को सदस्यता लिएर पार्टीगत राजनीति औपचारिक सुरुवात गरेका थिए भने र २०५४ सालदेखि एमालेको केन्द्रीय भएर काम गरेका थिए । २०७६ सालमा एमालेको स्थायी कमिटी सदस्य भएका थिए ।

महासेठले २०६८ सालमा जलस्रोत तथा सिँचाइमन्त्री र २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारीमा काम गरेका छन् । उनले २०५१ सालमा उदयपुर सिमेन्ट उद्योगको कार्यकारी अध्यक्ष भएर पनि काम गरेका छन् । उनको विशेष रुचिको क्षेत्र विकास र खेलकुद हो ।

राजनीतिक घटनाक्रमका क्रममा २०२८/०२९ को संघर्षको क्रममा २७ दिन थुनामा बसेका थिए । राजनीतिक आन्दोलनको क्रममा पटक/पटक गरी १३ महिना थुना र जेल जीवन बिताइसकेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *